images
images
  • उम्मेदवारी दिने मतदाताको घर आँगनमा नटेक्ने ओली यसपटक चहार्दै झापा–५ का टोल छिमेक

    झापा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आठौँपटक संसदीय चुनावमा उम्मेदवार बनेपछि झापा–५ फेरि राष्ट्रिय चासोको केन्द्रमा परेको छ ।

    २०४८ यताका संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा धेरैपटक उम्मेदवार बनेका नेतामध्ये ओली सम्भवतः एक्लै हुन् ।

    विगतका सातमध्ये छ निर्वाचन जितिसकेका ओलीको संसदीय यात्रा २१ फागुनपछि निरन्तर रहन्छ कि रोकिन्छ भन्ने प्रश्न अहिले देश–विदेशमै बहसको विषय बनेको छ ।

    तर, झापा–५ का मतदाता र स्वयं उम्मेदवार दुवैले नतिजाको स्पष्ट आकलन गर्न सकेका छैनन् ।

    यसपटकको चुनावी अभियानमा देखिएको ओलीको सक्रियता नै अनिश्चितताको संकेतका रूपमा हेरिएको छ ।

    दमक, कमल, गौरादह र गौरीगञ्ज क्षेत्रबाट लगातार विजयी हुँदै आएका ओली विगतका निर्वाचनमा जति सहज देखिन्थे, यसपालि त्यति सहज छैनन् ।

    २०७४ र २०७९ मा देशभरमै सर्वाधिक मत ल्याएका ओलीले त्यसबेला सीमित सभा र भेटघाटमै चुनाव जितेका थिए ।

    तर अहिले उनी गाउँ–गाउँ, टोल–टोल पुगेर घरदैलो गरिरहेका छन् ।

    ५ माघमा झापा पुगेका ओलीले उम्मेदवारी दर्तापछि पनि निर्वाचन क्षेत्रमै समय बिताए ।

    २३ माघमा पुनः झापा फर्किएपछि उनले लगातार घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

    इतिहासमै दुर्लभजस्तै गरी उनी झण्डै दुई साता निर्वाचन क्षेत्रमै केन्द्रित भएका छन् ।

    सब्जी बजारदेखि सुकुम्बासी बस्ती, अव्यवस्थित बसोबास क्षेत्र, धार्मिक स्थल र दशगजासम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

    बालकदेखि वृद्धासम्म सबै वर्गसँग भेटघाट गर्दै गुनासा र सुझाव सुन्ने उनको शैली यसअघिका चुनावभन्दा फरक देखिएको छ ।

    २०७४ को निर्वाचनमा ओली उम्मेदवारी दर्ताबाहेक झापा–५ मा मुश्किलले दुईपटक मात्र चुनावी सभामा सहभागी भएका थिए ।

    त्यसै चुनावमा उनले ५७ हजारभन्दा बढी मत ल्याएका थिए ।

    २०७९ मा पनि करिब १० दिन मात्र क्षेत्रमा बसेर सभा र कार्यकर्ता भेलामै सीमित रहँदा उनले निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर मतले पराजित गरेका थिए ।

    तर यसपटक परिस्थिति फेरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बनेपछि प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ ।

    अघिल्ला दुई निर्वाचनमा झापा–५ मा राप्रपाको समर्थन पाएका ओली यसपटक भने त्यस्तो खुला तालमेलविना मैदानमा छन् ।

    एमाले र राप्रपाले आ–आफ्ना उम्मेदवार उठाएकाले मत विभाजनको सम्भावना पनि चर्चा भइरहेको छ ।

    स्थानीय स्तरमा पनि ओलीको बढ्दो सक्रियता चर्चा र चासोको विषय बनेको छ ।

    गौरीगञ्जका पूर्वजनप्रतिनिधि विजय अग्रवाल भन्छन्, “पहिला एउटा ठूलो कार्यक्रममै सीमित हुनुहुन्थ्यो, अहिले भित्री गाउँ र चोक–चोक पुगेर भोट मागिरहनुभएको छ ।”

    एमाले झापा–५ निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालका अनुसार, यसपटकको घरदैलो अभियानले मतदातामा उत्साह थपेको छ ।

    “अध्यक्ष ओलीलाई गाउँमै भेट्दा मतदाताले आफ्ना जिज्ञासा र गुनासा प्रत्यक्ष राख्न पाएका छन्, यसले सकारात्मक सन्देश गएको छ,” उनले बताए ।

    यसरी हेर्दा, विगतमा सहज जित निकाल्दै आएका ओली यसपटक भने प्रत्यक्ष जनसम्पर्कमार्फत परिणाम सुरक्षित गर्न प्रयासरत देखिन्छन् ।

    झापा–५ को चुनाव यसकारण पनि ‘इलेक्सन अफ द नेसन’ का रूपमा हेरिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images