काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की चितवन–३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा निवर्तमान सांसद सोविता गौतमले मेयर र सांसदको भूमिकाबीचको भिन्नता जनतालाई स्पष्ट रूपमा बुझाउन आवश्यक रहेको बताएकी छन् ।
मतदाताबाट आएका जिज्ञासाको जवाफ दिन उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमा यस्तो धारणा व्यक्त गरेकी हुन् ।
घरदैलो अभियानका क्रममा एक मतदाताले आफूलाई ‘मेयर हो ?’ भनेर सोधेको प्रसंग सुनाउँदै गौतमले मेयर र सांसदको काम फरक–फरक हुने कुरा अहिले जनस्तरमै प्रष्ट पार्न जरुरी भएको बताइन् ।
उनका अनुसार मेयर स्थानीय तहका कार्यकारी प्रमुखका रूपमा विकास र सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुन्छन् भने सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण गर्नु हो ।
‘सांसदले बनाएको कानुनकै आधारमा मेयरहरूले काम गर्ने हो, त्यसैले कानुन कस्तो बन्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ उनले भनिन् ।
गौतमको यो अभिव्यक्ति फरक शैलीमा मतदातालाई लक्षित भए पनि चितवन–३ की अर्की उम्मेदवार रेनु दाहालतर्फ संकेत गरिएको रूपमा पनि हेरिएको छ ।
नेकपाबाट उम्मेदवार बनेकी दाहालले केही दिनअघि गौतमको नामै लिएर विगतमा निर्वाचित भएको क्षेत्रमा गरेको विकासको उदाहरण प्रस्तुत गर्न सुझाव दिएकी थिइन् ।
दाहालले भनेकी थिइन्, ‘उहाँले पहिले जितेको ठाउँमा गरेका कामको मोडेल देखाएर ‘हामीले यस्तो गरेका थियौँ’ भन्न सक्नुहुन्थ्यो ।’























