नवलपरासी– पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।
अघिल्लो निर्वाचनमा विजयी नेपाली कांग्रेसका अर्बपति नेता विनोद चौधरी पुनः उम्मेदवार बनेका छन् ।
उनलाई यसअघि आफ्नै चुनावी कमाण्डर रहेका विक्रम खनालले रास्वपाबाट चुनौती दिएका छन् ।
कांग्रेसको लुम्बिनी प्रदेश महामन्त्री पद छाडेर रास्वपा प्रवेश गरेका खनालले चौधरीको मत काट्ने आकलन गरिएको छ ।
यसै क्षेत्रमा पटक–पटक सांसद तथा मन्त्री भइसकेका हृदयेश त्रिपाठी यसपटक जसपा नेपालबाट उम्मेदवार छन् ।
नेकपाबाट सिन्धु जलेसा, एमालेबाट पूर्व गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, राप्रपाबाट नवनितकुमार मिश्र र जनमतबाट गणेशबहादुर चौधरी पनि मैदानमा छन् ।
२०७९ को समानुपातिक मत परिणामअनुसार कांग्रेस अग्रस्थानमा देखिए पनि रास्वपाको बढ्दो प्रभाव र खनालको उम्मेदवारीले समीकरण बदलिन सक्ने अनुमान छ ।
मतदाताका अनुसार कांग्रेस संगठनात्मक रूपमा बलियो भए पनि यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित जस्तै छ ।
यो क्षेत्रमा १ लाख २३ हजार ८० मतदाता, १ सय ४८ मतदान केन्द्र र २६ उम्मेदवार छन् ।
सबै दल एक्लाएक्लै चुनाव लडेकाले अघिल्लो नतिजाका आधारमा स्पष्ट आकलन गर्न कठिन देखिएको छ ।























