images
images
  • जलाइएको ५ महिनापछि खुलेको कोटेश्वर भाटभटेनीमा ३ सय भन्दा बढीलाई रोजगारी

    काठमाडौं- जेनजी आन्दोलन क्रममा आगजनी र लुटपाट भएको भाटभटेनी सुपरस्टोरको कोटेश्वर शाखा पाँच महिनापछि पूर्ण रूपले सञ्चालनमा आएको छ।

    जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले देशभर रहेका भाटभटेनीका २७ शाखामध्ये १२ वटामा आगजनी गरेर ध्वस्त पारेका थिए।

    त्यस क्रममा कोटेश्वर भाटभटेनीमा एक जनाको जलेर मृत्यु भएको थियो भने चुच्चेपाटीमा ६ जनाको मृत्यु भएको थियो।

    इटहरीको भाटभटेनीबाट पनि एउटा शव फेला परेको थियो।

    जलाइएका भाटभटेनीमध्ये कोटेश्वर शाखा शनिबारबाट सञ्चालनमा आएको हो।।

    बाँकी ११ वटा शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको भाटभटेनी व्यवस्थापन पक्षले जनाएको छ।

    कोटेश्वरको भाटभटेनी शाखामा तीन सयभन्दा बढी कर्मचारी कार्यरत थिए। स्टोर पुनस् सञ्चालनमा आएपछि ती सबैलाई काममा फर्काइएको स्टोरका म्यानेजर मुना राईले जानकारी दिइन्।

    भदौ २४ को हिंसात्मक घटनाबाट देशभर भाटभटेनीका १२ वटा शाखा ध्वस्त भएपछि सञ्चालक मीनबहादुर गुरूङले भने एक जना पनि कर्मचारीको जागिर नजाने र सबैलाई नियमित तलब दिने बताएका थिए।

    नभन्दै विस्थापित सबै कर्मचारीलाई भाटभटेनीले काममा फर्काएको छ।

    केही कर्मचारीलाई सञ्चालनमा रहेका शाखाहरूमा खटाइएका छन् भने केहीलाई ध्वस्त संरचनाको सरसफाइमा लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images