काठमाडौं– नियमित कार्यकालभन्दा करिब दुई वर्षअघि प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने भएपछि मुलुकको राजनीतिक माहोल तातेको छ ।
गत भदौ २३–२४ मा देखिएको जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिवेशबीच हुन लागेको यो निर्वाचनलाई दल तथा शीर्ष नेताहरूको जनमत परीक्षणका रूपमा हेरिएको छ ।
केही निर्वाचन क्षेत्रमा पुराना दलका प्रभावशाली नेताहरू र नयाँ दलका उदाउँदा अनुहारबीच कडा प्रतिस्पर्धाको संकेत देखिन थालेको छ ।
झापा–५, सर्लाही–४, रौतहट–१, चितवन–२ र रुकुम पूर्वजस्ता क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूबीच रोचक भिडन्त हुने आकलन गरिएको छ ।
निर्वाचन आयोगमा दर्ता भएका दल तथा उम्मेदवारको संख्या बढेसँगै यसपटकको चुनाव अघिल्ला निर्वाचनभन्दा फरक र बहुदलीय प्रतिस्पर्धायुक्त हुने देखिन्छ ।
धेरै दल र स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिँदा मत विभाजनको सम्भावना पनि बढेको छ ।
ठूला दलहरू संगठनात्मक शक्तिको भरमा घरदैलो अभियानमा केन्द्रित छन् ।
कांग्रेसले स्थिरता र लोकतान्त्रिक मूल्यलाई प्राथमिक मुद्दा बनाएको छ भने एमालेले राष्ट्रियता, विकास र नेतृत्व क्षमताको एजेन्डा अघि सारेको छ ।
नेकपाले सामाजिक न्याय र समावेशी विकासको नारा दिएको छ ।
उता रास्वपा तथा अन्य नयाँ दलहरू पुराना दलप्रति जनआक्रोशलाई मतमा रूपान्तरण गर्ने रणनीतिमा देखिन्छन् ।
प्रारम्भिक प्रचारप्रसारका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह र केही स्वतन्त्र उम्मेदवारप्रति युवापुस्ताको आकर्षण देखिन थालेको छ ।
यसले परम्परागत दलहरूलाई दबाबमा पारेको विश्लेषण भइरहेको छ ।
कतिपयले यस अवस्थालाई २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी उदयसँग तुलना गर्न थालेका छन् ।
यद्यपि त्यतिबेला ठूलो दल बने पनि माओवादीले स्पष्ट बहुमत भने पाएको थिएन ।
यसपटक पनि कुनै एक दलले एकल बहुमत ल्याउने सम्भावना न्यून र गठबन्धन सरकार बन्ने अनुमान गरिँदैछ ।
यस निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल तथा रास्वपा सभापति रवि लामिछाने आ–आफ्ना चुनौतीसँग जुधिरहेका छन् ।
ओलीमाथि जेनजी आन्दोलन दमनको आरोप, थापामाथि आन्तरिक असहयोगको जोखिम, दाहालमाथि माओवादी एजेन्डा कमजोर बनाएको आरोप, नेपालविरुद्ध भ्रष्टाचार मुद्दा र लामिछानेमाथि सहकारी ठगीको आरोपले चुनावी प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ ।
झापा–५: ओलीमाथि साहको दबाब
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि जित्दै आएको झापा–५ मा यसपटक रास्वपाका बालेन्द्र साह उम्मेदवार बनेपछि प्रतिस्पर्धा रोचक बनेको छ ।
काठमाडौं महानगरको मेयर पद त्यागेर साह झापा पुगेका हुन् ।
एमालेले ओलीलाई र रास्वपाले साहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् ।
ओलीको संगठनात्मक बल र स्थानीय विकासको अनुभव एकातिर छ भने साहको युवा आकर्षण र ऊर्जा अर्कोतिर देखिएको छ ।
विश्लेषकहरूका अनुसार यहाँ थोरै मतान्तरमा हार–जित हुन सक्छ ।
सर्लाही–४: थापा बनाम सिंह
कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौं–४ छाडेर सर्लाही–४ रोजेका छन् ।
उनलाई रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहले कडा चुनौती दिएका छन् ।
सिंहको स्थानीय प्रभाव र विगतको जितले प्रतिस्पर्धालाई बलियो बनाएको छ ।
कांग्रेसको परम्परागत प्रभाव क्षेत्र भए पनि यहाँ नतिजा अनुमान गर्न कठिन देखिन्छ ।
रुकुम पूर्व: दाहालको सुरक्षित खोजी
नेकपा संयोजक पुष्पकमल दाहाल यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।
माओवादी जनयुद्धको आधारभूमि मानिने यस क्षेत्रमा ‘सहिदपुत्र’ सन्दीप पुन उम्मेदवार बनेपछि प्रतिस्पर्धा पेचिलो भएको छ ।
एमालेको समर्थनसमेत पुनलाई मिलेपछि दाहाललाई सहज जितको बाटो खुला छैन ।
रौतहट–१: नेपालको परीक्षा
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट पुनः चुनावी मैदानमा छन् ।
एमालेका अजयकुमार गुप्ता र कांग्रेसका अनिल झा उनका मुख्य प्रतिस्पर्धी हुन् ।
अघिल्लो निर्वाचनमा गठबन्धनको साथ पाएका नेपाल यसपटक एक्लै बलियो मत ल्याउनुपर्ने अवस्थामा छन् ।
चितवन–२: लामिछाने प्रश्नको घेरामा
रास्वपा सभापति रवि लामिछाने पुनः चितवन–२ बाट उम्मेदवार छन् ।
दुईपटक जितिसकेको क्षेत्र भए पनि सहकारी ठगीसम्बन्धी मुद्दाले उनलाई घेराबन्दीमा पारेको छ ।
कांग्रेस, एमाले र नेकपाले नयाँ अनुहार उतारेकाले यहाँ पनि प्रतिस्पर्धा चर्किने देखिन्छ ।
अघिल्ला मतान्तर हेर्दा लामिछाने बलियो अवस्थामा रहे पनि कानुनी र नैतिक प्रश्नहरूले उनको अभियानलाई चुनौती दिइरहेका छन् ।
समग्रमा, यसपटकको निर्वाचन पुराना शक्ति र नयाँ आकांक्षाबीचको टक्करका रूपमा देखिएको छ ।
जनमत कता ढल्किन्छ भन्ने उत्सुकताले राजनीतिक वृत्त मात्र होइन, आम मतदाता पनि चासोपूर्वक प्रतीक्षा गरिरहेका छन् ।























