काठमाडौं– भारत सरकारले तिब्बती आध्यात्मिक गुरु दलाई लामा र उनको कार्यालय ‘गादेन फोद्राङ’लाई नयाँ दिल्लीको लुटियन्स क्षेत्रमा सरकारी बंगला उपलब्ध गराएको छ ।
भारतको आवास तथा सहरी मामिला मन्त्रालयले पण्डित रविशंकर शुक्ला लेनस्थित ‘टाइप–७’ श्रेणीको बंगला विदेश मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
सामान्यतया यस्ता सरकारी आवास तीन वर्षका लागि उपलब्ध गराइने र आवश्यकताअनुसार अवधि थप गर्न सकिने व्यवस्था छ ।
निर्वासित तिब्बती संसद्का सदस्यहरूले यस निर्णयलाई भारतले दलाई लामा र तिब्बती समुदायप्रति देखाएको समर्थनको महत्वपूर्ण संकेतका रूपमा स्वागत गरेका छन् ।
संसद्की सभामुख डोल्मा छिरिङले यसले दलाई लामाको दिल्ली भ्रमण सहज बनाउनुका साथै राजधानीमा बसोबास गर्न थप सुविधा पुग्ने बताएकी छन् ।
सन् २०११ मा दलाई लामाले निर्वाचित तिब्बती नेतृत्वलाई राजनीतिक अधिकार हस्तान्तरण गरेपछि उनको कार्यालय ‘गादेन फोद्राङ’ भारतमा निजी ट्रस्टका रूपमा दर्ता भएको थियो ।
उक्त ट्रस्टले दलाई लामाका आध्यात्मिक तथा मानवीय गतिविधि र संस्थागत विरासत संरक्षणको काम गर्दै आएको छ ।






















