images
images
  • काठमाडौं-६ : नयाँ अनुहारको इन्ट्री, रास्वपाका शिशिर खनाललाई बानियाँ र मास्केको चुनौती

    काठमाडौं- यती बेला काठमाडौं-६ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावी सरगर्मी बढ्दै छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीत जोगाउने कसरतमा छ भने कांग्रेस, एमाले लगायतका दलहरु रास्वपालाई यसपटक रोक्ने दाउमा छन् ।
    ०७९ मा रास्वपाका शिशिर खनालले जितेको यो क्षेत्रमा कांग्रेस र एमालेले नयाँ अनुहार अघि सारेका छन् । कांग्रेसबाट काठमाडौं जिल्ला सभापति कृष्णसबुज बानियाँ र एमालेले अमन मास्केलाई अघि सारेको छ ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट हिमाल शर्मा दोस्रोपटक यो क्षेत्रमा प्रतिस्पर्धामा छन् । दलसम्बद्ध १५ र स्वतन्त्र ५ गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

    ०७९ को निर्वाचनमा प्राप्त गरेको मत हेर्दा रास्वपाले पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो भएको क्षेत्र हो । तर, ०७४ मा भने कांग्रेस उम्मेदवार प्रधान यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    शिशिरलाई बानियाँ र मास्केको चुनौती
    राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-६ मा शिशिर खनाललाई नै उम्मेदवार दोहो¥याएको छ । खनालले गत निर्वाचनमा १४ हजार २२१ मत ल्याएर निर्वाचित भएका थिए । ०७९ को चुनावमा काठमाडौंमा रास्वपाको लहर चल्दा त्यसको लाभ खनाललाई पनि पुगेको थियो ।

    उसो त त्यतिबेला कांग्रेसबाट ०६४, ७० र ७४ मा उम्मेदवार बनेका प्रधान नै उम्मेदवार बन्दा कतिपयले उम्मेदवार थोपरिएको भाष्य नै बनेको थियो भने अर्कोतिर एमालेबाट राजनीतिक छवि नभएका पूर्वप्रहरी अधिकारी खनाल मैदानमा थिए । कांग्रेसको पुरानो अनुहार र एमालेको भूगोलसँग अपरिचित र राजनीतिक छवि नभएको लाभ खनाललाई पुगेको थियो ।

    तर, यसपटक कांग्रेस र एमालेले यो क्षेत्रमा रणनीति बदलेका छन् । कांग्रेसले यो क्षेत्रमा अवसर नपाएको भनेर सहानुभूति बटुल्न सक्ने स्थानीय बानियाँ र एमालेले प्रदेश सभामा जितेका अमन मास्केलाई नै मैदानमा उतारेको छ । कांग्रेस र एमालेको नयाँ अनुहार यसपटक खनालका लागि चुनौती हुनसक्ने स्थानीय बताउँछन् ।

    तर, खनाल यसपटक पनि रास्वपाले जित्नेमा आशावादी देखिन्छन् । काठमाडौं-६ का मुद्दाहरु ३ वर्ष संसदमा रहँदा १५ पटक बढी उठाएको भन्दै खनाल मत मागिरहेका छन् । रास्वपाभित्र कम विवादमा परेका खनालको सरल र सालिन छवि, पुराना दलप्रतिको वितृष्णा नै उनका लागि बलियो आधार रहेको रास्वपाका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

    खनाल सुशासन, आर्थिक सुधार, पूर्वाधार विकास, आर्थिक कूटनीति प्रवद्र्धनको योजना आफूसँग रहेको भन्दै मत मागिरहेका छन् ।

    कांग्रेसको जिम्मेवारी बानियाँको काँधमा
    काठमाडौं-६ मा ०७० र ०७४ मा जितेको अनुभव कांग्रेससँग छ । तर, ०७९ को निकट विगतमा कांग्रेस एकैपटक तेस्रो स्थानमा खस्केपछि अहिले विरासत फर्काउन कांग्रेसले नयाँ उम्मेदवार दिएको छ ।

    यो क्षेत्रका स्थानीय, काठमाडौं कांग्रेसको दोस्रो कार्यकाल सभापति रहेका पुराना नेता कृष्णसबुज बानियाँ उम्मेदवार छन् । काठमाडौं–६ को भूगोलका लागि परिचित अनुहार भए पनि उम्मेदवारका रुपमा उनी पहिलोपटक प्रतिस्पर्धामा छन् ।

    २०५४ सालमा तत्कालीन गोंगुब गाविसको अध्यक्ष भएका बानियाँका लागि रास्वपाका खनाल र एमालेका मास्के मुख्य चुनौती हुन् । पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका उनले नदी संरक्षणलाई प्रमुख चुनावी मुद्दा बनाएका छन् । आफू सांसद निर्वाचित भए शहरी संरक्षण तथा पुनर्जागरण सम्बन्धी संकल्प प्रस्ताव संसद बैठकमा पेस गर्ने उनको प्रतिबद्धता छ ।

    ०७९ मा उम्मेदवार दोहोरिँदा मतदाताले विश्वास नगरेको बताउने स्थानीय कांग्रेस नेता कार्यकर्ता यसपटक नयाँ अनुहार उम्मेदवार बन्दा उत्साही देखिन्छन् ।

    निकटतम प्रतिस्पर्धीबाट निर्वाचित हुने दौडमा एमाले
    एमाले यसपटक काठमाडौं-६ मा जित निकाल्नेमा ढुक्क देखिन्छ । एमालेबाट यो क्षेत्रमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर अमनकुमार मास्के उम्मेदवार बनेका छन् ।

    इञ्जिनियरसमेत रहेका मास्के बागमती प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री पनि भएका थिए । तारकेश्वर नगरपालिका–फुटुङका स्थायी बासिन्दा मास्के यसपटक बलियो उम्मेदवारका रुपमा हेरिएका छन् ।

    प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुँदा क्षेत्रका लागि उनले विनियोजन गरेको बजेट चुनाव जित्ने आधार रहेको एमाले कार्यकर्ताहरु दाबी गर्छन् ।

    उसो त, ०७९ मा रास्वपाको लहर चलेका बेला एमाले उम्मेदवार प्रहरीका पूर्वअधिकारी खनाल दोस्रो भएकाले मास्के उठ्दा यसपटक मत थपिने एमाले विश्लेषण छ । मास्के प्रदेश सभामा ८ हजार ५९ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनले चुनाव जितेको प्रदेशसभा टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् । ती क्षेत्रमा मास्केको प्रभाव देखिन्छ ।

    तर, मास्केका लागि रास्वपाका खनाल र कांग्रेसका बानियाँ मुख्य चुनौती बन्न सक्छन् ।

    नेकपा र राप्रपा पनि सक्रिय छन् मैदानमा
    यो क्षेत्रमा ०६४ देखि यताका परिणामलाई हेर्दा अहिले रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने ठानिएको छ । तर, यो क्षेत्रमा सबैलाई उछिन्दै जित निकाल्ने दाबीसहित नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मत माग्न व्यस्त छन् ।

    नेकपाबाट हिमाल शर्मा दोस्रोपटक यो क्षेत्रमा उम्मेदवार बनेका छन् । उनी ०७० सालमा यो क्षेत्रमा उम्मेदवार बन्दै पराजित भएका थिए । ‘मुलुक र यस क्षेत्रको लागि केहि गरौं भन्ने हुटहुटी छ ।

    त्यस्तै, राप्रपाले उद्धवराज भेटुवाललाई उम्मेदवार बनाएको छ । सुशासन, विकास र जनतामुखी नीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनी मत मागिरहेका छन् । भेटुवाल पनि चुनाव आफूले जित्ने दाबी गरिरहेका छन् । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images