images
images
  • चीन–रूसबीचको गठबन्धन कायम, पश्चिमाविरुद्ध बलियो मोर्चा कसेर युद्धमा जाने तयारी

    बेइजिङ– चीनका राष्ट्रपति सी जिनपिङ र रूसी नेता भ्लादिमिर पुटिनले बुधबार भिडियो कलमार्फत कुराकानी गर्दै विश्वव्यापी रूपमा ‘अशान्त’ समयमा आफ्नो देशको आर्थिक, राजनीतिक र सुरक्षा गठबन्धन ‘स्थिर’ भएको भन्दै सम्बन्धबारे आपसमा प्रशंसा गरेका छन् ।

    रूसको सन् २०२२ को युक्रेन आक्रमणपछि सम्बन्ध गहिरो हुँदै गएको छ ।

    मस्को र बेइजिङले पश्चिमाविरुद्ध संयुक्त मोर्चा प्रस्तुत गर्न खोजेको देखिन्छ ।

    उनीहरूले आर्थिक सहकार्यलाई गति दिने क्रममा यस वर्ष दुई देशका उच्च अधिकारीबीच सम्बन्ध ‘नयाँ आधार तोक्न’ सक्ने सहमति भएको केही दिनपछि भिडियोमार्फत् यो कुराकानी भएको हो ।

    चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जारी गरेको एक वक्तव्यमा राष्ट्रपति सीले भने, ‘यो वर्षको सुरुदेखि नै अन्तर्राष्ट्रिय अवस्था निकै उथलपुथल बनेको छ ।’

    ‘दुवै पक्षले रूस–चीन सम्बन्धलाई गहिरो रणनीतिक समन्वय र प्रमुख शक्तिका रूपमा अझ सक्रिय र प्रभावकारी प्रतिबद्धतामार्फत सही मार्गमा निरन्तर विकास गर्न सुनिश्चित गर्नेछन्,’ चिनियाँ राष्ट्रपति सीले भने ।

    राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सीलाई आफ्नो ‘प्रिय मित्र’ भनेर सम्बोधन गर्दै यस्तै सन्देश दिँदै भने, ‘मस्को र बेइजिङबीचको विदेश नीति गठबन्धन स्थिरताको महत्वपूर्ण पक्ष हो ।’

    रूसी राष्ट्रिय टेलिभिजनमा प्रसारित भिडियोमा पुटिनलभनेका छन्, ‘रूस र चीनबीचको व्यापक साझेदारी र रणनीतिक सहयोग उदाहरणीय छ ।’

    कुनै पनि नेताले कुन रणनीतिक क्षेत्रमा समन्वय बढाउने भन्ने बारेमा विस्तृत रूपमा बताएका भने छैनन् ।

    क्रेमलिनको युक्रेन आक्रमणलाई लिएर पश्चिमा देशहरूले रूसमाथि ठूलो प्रतिबन्ध लगाएपछि मस्कोले आफ्नो निर्यातलाई एसियामा पुनर्निर्देशित गरेसँगै पुटिनले चीनसँगको व्यापार सम्बन्धको प्रशंसा गरे ।

    चीनले रूसद्वारा युक्रेनमा गरेको युद्धको कहिल्यै निन्दा गरेको छैन वा सेना फिर्ता गर्न आह्वान गरेको छैन ।

    युक्रेनका धेरै सहयोगीहरू विश्वास गर्छन् कि बेइजिङले मस्कोलाई समर्थन गरेको छ ।

    लगभग चार वर्षे युद्ध अन्त्य गर्ने विषयमा अर्को चरणको वार्ताका लागि अबु धाबीमा रूसी, युक्रेनी र अमेरिकी वार्ताकारहरू भेला भएका समय हुँदा भिडियो कल भएको थियो ।

    सीसँगको कुराकानीका क्रममा पुटिनले युक्रेनको बारेमा कुनै बिषय पनि उल्लेख नगरेको बताइएको छ ।

    दुई नेताहरूले अन्तिम पटक सेप्टेम्बरमा व्यक्तिगत रूपमा भेट गरेका थिए ।

    रूसी नेता बेइजिङमा विशाल सैन्य परेडमा भाग लिन सेप्टेम्बरमा चीन भ्रमणमा आएका थिए ।

    सीले गत वर्ष मे महिनामा रुसले दोस्रो विश्वयुद्धमा नाजीहरूको पराजयको उत्सव मनाउन मस्कोको पनि भ्रमण गरेका थिए ।

    चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार बेइजिङमा रुसी सुरक्षा प्रमुख सेर्गेइ सोइगुसँग भेटवार्ता गरेका थिए ।

    चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङले शोइगुलाई चीन र रूसले ‘अस्तव्यस्त’ विश्व राजनीतिका समयमा बहुपक्षीयतावादलाई कायम राख्न र ‘समान र व्यवस्थित बहुध्रुवीय विश्वको वकालत गर्न’ मिलेर काम गर्नुपर्ने बताएका थिए । –एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images