काठमाडौं- अमेरिका-इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने इरानका विदेशमन्त्री अब्बास अरागचीले जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेख्दै शुक्रबार स्थानीय समय अनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने बताएका छन् । उनले वार्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइदिएकोमा ओमान सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।
अमेरिका र इरानबीच लामो समयदेखि परमाणु कार्यक्रमलाई लिएर तनाव रहँदै आएको छ ।
सन् २०१५ मा भएको परमाणु सम्झौता (जेसीपीओए) अनुसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका प्रतिबन्ध हटाउने सहमति भएको थियो ।
तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेपछि सम्बन्ध थप जटिल बनेको थियो ।
त्यसयता दुवै देशबीच प्रत्यक्ष संवाद ठप्प जस्तै छ भने प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छ ।


विश्व खबर 


















