काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै मधेस प्रदेशका ८ जिल्लामा तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई जिम्मेवारी बाँडफाँट गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयका कमल थापा, तालिम केन्द्र राजविराजका भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका शान्तिराज कोइरालालाई जिल्लागत निरीक्षण, अनुगमन र सुरक्षा योजना समन्वयको जिम्मा दिइएको हो ।
सिरहा–सप्तरीमा दाहाल, बारा–पर्सा–रौतहटमा कोइराला र धनुषा–महोत्तरी–सर्लाहीमा थापा खटिएका छन् ।
सिरहा, सर्लाही, रौतहट र पर्सालाई बढी चुनौतीपूर्ण जिल्ला मानिएको छ ।
दल परिवर्तन, प्रतिस्पर्धी उम्मेदवार र विगतका घटनाका कारण यी क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
खुला सिमाना, अघिल्ला निर्वाचनका घटना र संवेदनशील मतदानस्थलका कारण मधेसलाई सधैं उच्च जोखिम क्षेत्रका रूपमा हेरिन्छ ।
प्रदेशमा २,१६० मतदानस्थल र ४,४७१ मतदान केन्द्र छन्, जसमा १,२३७ अति संवेदनशील र ७६३ संवेदनशील छन् ।
निर्वाचन सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन् ।
सेनाले मतपत्र छपाइ, ढुवानी, मतपेटिका सुरक्षा तथा विमानस्थल र कारागार सुरक्षाको जिम्मा पनि लिनेछ ।
मधेसमा करिब ३६ लाख मतदाता र १,०२८ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा ५५५ स्वतन्त्र छन् ।























