जनकपुरधाम– झापा, रुकुमपूर्व र चितवनपछि सबैभन्दा चासोको चुनावी प्रतिस्पर्धा सप्तरीमा देखिएको छ ।
क्षेत्र नम्बर ३ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत उम्मेदवार छन् ।
२०७९ मा एउटै क्षेत्रमा भिड्दा राउत विजयी भएका थिए, तर यसपटक दुवै क्षेत्रमा प्रतिस्पर्धा कडा देखिन्छ ।
सप्तरी–३ मा उपेन्द्र यादवलाई एमालेका ताराकान्त चौधरी र रास्वपाबाट उनका भतिजा अमरकान्त चौधरी मुख्य चुनौतीका रूपमा उभिएका छन् ।
अघिल्लो निर्वाचनका समानुपातिक मतले यादवलाई बल पुगे पनि कांग्रेस र जनमतको मत आधार ठूलो थियो ।
कांग्रेसका दिनेशकुमार यादव र एमालेका ताराकान्त पुनः मैदानमा रहँदा प्रतिस्पर्धा रोचक बनेको छ ।
चौधरी परिवारकै दुई उम्मेदवार हुँदा मत विभाजनको फाइदा उपेन्द्रलाई पुग्ने आकलन गरिएको छ ।
सप्तरी–२ मा भने डा. सीके राउत अप्ठेरो स्थितिमा छन् ।
उनका पूर्व सहकर्मी तथा पूर्व मुख्यमन्त्री सतिसकुमार सिंह स्वाभिमान पार्टीबाट उम्मेदवार बनेपछि मत विभाजनको जोखिम बढेको छ ।
एमाले, कांग्रेस, रास्वपा र जसपाका उम्मेदवारसमेत मैदानमा रहेकाले यहाँ बहुकोणीय प्रतिस्पर्धा देखिएको छ ।
शहरी युवा मतदाता राउतप्रति सकारात्मक भए पनि एकीकृत नहुनु उनका लागि चुनौती बनेको छ ।
यसकारण सप्तरी–२ लाई मधेशकै सबैभन्दा अनिश्चित निर्वाचन क्षेत्र मानिएको छ, जहाँ प्रतिस्पर्धा डा. राउत र विपक्षीबीच मात्र होइन, उनको पुरानो संगठनात्मक आधार र नयाँ राजनीतिक चुनौतीबीचको संघर्षका रूपमा हेरिएको छ ।























