images
images
  • इरानमा रहेका नेपालीलाई स्वदेश फिर्ता हुन परराष्ट्र मन्त्रालयको आग्रह

    काठमाडौं– परराष्ट्र मन्त्रालयले इरानमा रहेका तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    आइतबार जारी सूचनामा पछिल्लो विकसित परिस्थितिलाई ध्यानमा राख्दै अवस्था सामान्य नहुँदासम्म इरान भ्रमणको योजना नबनाउन आग्रह गरिएको छ ।

    त्यस्तै, काम वा बसोबासका सिलसिलामा इरानमा रहेका नेपालीलाई सकेसम्म चाँडो सुरक्षित रूपमा स्वदेश फर्किन सुझाव दिइएको छ ।

    मन्त्रालयले इरानमा रहेका नागरिकलाई आकस्मिक अवस्थाका लागि राहदानी, परिचयपत्रलगायत आवश्यक कागजात तयारी अवस्थामा राख्न र समन्वयका लागि दोहास्थित नेपाली दूतावास वा काठमाडौंस्थित मन्त्रालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

    इरानमा डिसेम्बर २८ देखि महँगी, मुद्रास्फिति र सरकारी आर्थिक नीतिको विरोधमा प्रदर्शन जारी छ ।

    जसमा हताहतीसमेत भएको बताइए पनि आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

    सुरुमा आर्थिक मुद्दाबाट सुरु भएको आन्दोलन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको राजीनामासम्मको मागमा पुगेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसमा अमेरिकी समर्थन देखिएको उल्लेख गरेका छन् भने इरान सरकारले यसलाई आन्तरिक मामिला भन्दै बाह्य हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images