सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठमा देहिजाँत, दर्शन र पूजाआराधनाका लागि नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन पुग्दै
काठमाडौं – सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज भव्य ‘दिउसेडी’ मेला लाग्दैछ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष लाग्ने परम्परागत देहिजाँतअन्तर्गत आज दिउँसो मेला आयोजना हुन लागेको हो ।
अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा लाग्ने मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन् । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधनाका लागि पुग्ने अपेक्षा गरिएको छ ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने परम्परा छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। परम्पराअनुसार खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले उग्रतारा भगवतीको पूजा गरेपछि मेला सुरु हुने क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।
उग्रतारा भगवती मन्दिरको स्थापना र मेलासँग जोडिएको धार्मिक किंवदन्ती पनि रोचक छ। जनविश्वासअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका एक किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो। त्यसपछि किसानले आफूले खान ल्याएको खिचडी उक्त स्थानमा चढाउँदा रगत बग्न रोकिएको र देवी प्रकट भएको विश्वास गरिन्छ। सोही घटनापछि त्यहाँ मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको स्थानीय जनविश्वास छ ।
धार्मिक आस्थासँगै उग्रतारा मेला स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि महत्वपूर्ण मानिन्छ। मेलामा स्थानीय उत्पादन, कृषि उपज तथा विभिन्न सामग्रीको किनबेच हुने गरेको छ । यसले स्थानीय व्यवसायी र उत्पादकलाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ ।
मेलाको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष हजारौँ भक्तजनको सहभागिता रहने उग्रतारा देहिजाँतले डडेल्धुराको धार्मिक पहिचान र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।






















