images
images
  • मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्यो, भरिभराउ हुन थाले चखेवाका होटल

    काठमाडौं – पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गमा पर्यटकको आगमन बढ्न थालेपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

    पर्यटकको आवागमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा कारोबार बढ्न थालेको छ । विशेषगरी मुन्दुम पदमार्गको चखेवा क्षेत्रमा रहेका होटलमा पर्यटकको चाप बढेको स्थानीय व्यवसायीले बताएका छन् । स्थानीय होटल व्यवसायी नवराज काङमाङका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा १५० देखि २०० जनासम्म पर्यटक मुन्दुम पदमार्गको यात्रामा निस्कने गरेका छन्। पर्यटकको सङ्ख्या बढेसँगै चखेवा क्षेत्रमा रहेका १६ वटा होटलमा पाहुनाको चाप बढेको उनले बताए ।

    पदयात्राका लागि आउने पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने तथा आवश्यक सामग्री खरिद गर्ने गरेका छन्। यसले होटल व्यवसायीको आम्दानी बढाउनुका साथै स्थानीय कृषिउपज र घरेलु उत्पादनको बजार विस्तारमा समेत सहयोग पुर्‍याएको काङमाङको भनाइ छ । उनका अनुसार विशेषगरी भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढी हुने गरेको छ । मौसम अनुकूल हुँदा पदयात्रा सहज हुने र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिने भएकाले यी समयमा पर्यटकको आगमन बढ्ने गरेको हो ।

    पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरो पर्यटकका प्रमुख आकर्षण हुन् । मौसम खुलेका बेला यहाँबाट देखिने हिमशृङ्खला, अग्ला डाँडाकाँडा, हरियाली वनजङ्गल र गुराँस क्षेत्रले पर्यटकलाई लोभ्याउने गरेको छ । प्राकृतिक सुन्दरतासँगै किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले यस पदमार्गलाई विशिष्ट पहिचान दिएका छन् । पदयात्राका क्रममा स्थानीय रहनसहन, सांस्कृतिक परम्परा र जीवनशैलीलाई नजिकबाट बुझ्न पाइने भएकाले प्रकृति तथा संस्कृतिमा रुचि राख्ने पर्यटकको आकर्षण बढ्दै गएको छ ।

    टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमार्फत पर्यटनलाई स्थानीय अर्थतन्त्रको आधार बनाउने प्रयास भइरहेको उहाँको भनाइ छ। मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसारसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतले बताए । पर्यटकको सहज र सुरक्षित यात्राका लागि पदमार्गको संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिएको उनको भनाइ छ ।

    गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन क्षेत्रको विकासले स्थानीय नागरिकको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटकको आगमन बढ्दा होटल तथा खाना पसल सञ्चालन गर्ने अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने उनले बताए । पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्न सके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर प्राप्त गर्ने उपाध्यक्ष राईको भनाइ छ ।

    पर्यटकको सहज आवागमनका लागि पदमार्ग क्षेत्रमा खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटी तथा पदमार्गको नियमित मर्मतसम्भारका काम भइरहेको गाउँपालिकाले जनाएको छ । पर्यटकको सुरक्षित यात्राका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच समन्वय गरेर काम भइरहेको छ । स्थानीय कृषिउपज, परम्परागत परिकार र घरेलु सामग्रीलाई पर्यटकीय सेवासँग जोड्न सके स्थानीय उत्पादनको बिक्री तथा बजारीकरण थप विस्तार हुने देखिन्छ । पदमार्गको प्रचारप्रसार, पूर्वाधार विकास, स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धन तथा गुणस्तरीय पर्यटकमैत्री सेवा विस्तार गर्न सके मुन्दुम पदमार्गले पूर्वी पहाडको पर्यटन विकाससँगै स्थानीय रोजगारी र अर्थतन्त्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images