काठमाडौं – विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकखण्डलाई आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ । करिब ११३ किलोमिटर लामो सडकको तीन मिटर चौडाइको मध्य डिभाइडरमा दुबो रोप्ने तथा सौन्दर्य बढाउने बिरुवा लगाउने काम भइरहेको छ ।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गैँडाकोट, देवचुली र कावासोतीलगायतका क्षेत्रमा डिभाइडरमा दुबो रोप्ने काम तीव्र पारिएको छ । सडकको मुख्य कालोपत्र गर्ने काम लगभग सकिएपछि अहिले सडकलाई थप व्यवस्थित र सुन्दर बनाउने काम भइरहेको उहाँले जानकारी दिए । सडकका सर्भिस लेन तयार पार्ने, डिभाइडरमा रङरोगन गर्ने, रेलिङ राख्ने, पैदलयात्रीका लागि पेटी निर्माण गर्ने तथा सडक किनारमा सौन्दर्य बढाउने बिरुवा रोप्ने काम पनि जारी छ ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरी सुरु गरेको पूर्वपश्चिम राजमार्ग करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । नारायणघाट–बुटवल सडक विस्तारका लागि २०७५ माघमा निर्माण सम्झौता भएको थियो । सोही वर्षको चैतमा शिलान्यास गरी काम सुरु गरिएको आयोजनाले सम्झौताअनुसार ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, विभिन्न कारणले निर्माणमा ढिलाइ भएपछि चार पटक म्याद थप्नुपरेको थियो। करिब आठ वर्ष लगाएर गत साउनमा सडक विस्तारको काम पूरा भएको सूचना अधिकारी खनालले बताए ।
उहाँका अनुसार आयोजनाले गत साउनमै सडक टेकओभर गरिसकेको छ । यद्यपि, औपचारिक हस्तान्तरण भने हुन बाँकी छ । निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले सडकमा देखिने प्राविधिक त्रुटि सच्याउनुपर्ने व्यवस्था रहेकाले त्यसपछि मात्रै औपचारिक हस्तान्तरण हुनेछ ।
तीन प्रकारको सडक संरचना
नारायणघाट–बुटवल सडक विस्तारका लागि गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्ड गरी दुई भागमा ठेक्का लगाइएको थियो । दुवै खण्डको निर्माण चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत पाएको थियो । सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ । कुल लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।
आयोजनाअन्तर्गत ७० किलोमिटर सडक चार लेनमा, २९ किलोमिटर सडक छ लेनमा र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनमा निर्माण गरिएको छ । सहरी क्षेत्रमा सवारी चापलाई ध्यान दिँदै छ लेनको संरचना बनाइएको छ भने ग्रामीण तथा वन क्षेत्रमा चार लेन र भौगोलिक रूपमा कठिन दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण गरिएको हो ।
गति सीमा निर्धारण, दुर्घटना न्यूनीकरणमा जोड
सडक विस्तारसँगै सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा गति सीमा निर्धारण गरिएको छ। सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा बोर्ड तथा निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था गरिएको आयोजनाले जनाएको छ ।
सूचना अधिकारी खनालका अनुसार सिधा तथा खुला सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङमा ६० किलोमिटर प्रतिघण्टा र जङ्गली क्षेत्र तथा दाउन्नेको पहाडी भागमा ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ।
दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र गर्दा पनि सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर क्षेत्रमा सिमेन्ट कङ्क्रिट प्रयोग गरिएको छ। यसले पहाडी भूभागमा सडकको टिकाउपन बढाउने अपेक्षा गरिएको छ ।
६५ वर्ष पुरानो राजमार्गको स्वरूप परिवर्तन
नारायणघाट–बुटवल सडक विस्तारका क्रममा वातावरणीय प्रभावका रूपमा ४९ हजार ८३० वटा रुख काटिएका थिए। सडकको चौडाइ विस्तारसँगै यातायात पूर्वाधारसमेत थप गरिएको छ । आयोजनाअन्तर्गत २१ वटा ठूला पुल, ४३ वटा साना पुल र सडकको पानी निकासका लागि ४६ वटा कल्भर्ट निर्माण गरिएको छ । साना पुल तथा कल्भर्ट चार लेनको संरचनामा तयार पारिएका छन् भने ठूला पुलहरू पुराना पुलको दक्षिणतर्फ दुई लेनका रूपमा निर्माण गरिएको छ ।






















