images
images
  • बीमा गरेर दाबी भुक्तानी नदिएको नेपाल लाइफ के साच्चीकै ओरालो लागेको हो ?

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी रोक्न विभिन्न बहानाबाजी र प्राविधिक अड्चन देखाउने गरेको खुलासा भएको छ ।

    बिमितले समयमै प्रिमियम तिरेर बीमा गरे तापनि जटिल रोग लाग्दा भुक्तानी दिन इन्कार गर्ने प्रवृत्ति र कम्पनीको खस्कँदो वित्तीय सूचकले यस क्षेत्रका लगानीकर्ता र बिमितहरूमा चिन्ता बढाएको छ ।

    हालै उच्च अदालत पाटनबाट आएको फैसला र चालु आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणले कम्पनीको विश्वसनीयता र नाफा दुवैमा दबाब सिर्जना भएको देखाउँछ ।

    बिमितको दाबी र नेपाल लाइफको गैरजिम्मेवार अडान

    स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नं. ८ बस्ने इन्द्र बहादुर रिजालले २०७२ असार २२ गते १५ लाखको जीवन बीमा गराई २०७७ साउन ३० गते घातक रोगको थप सुविधा समेत लिएका थिए । तर २०७८ पुस ३० गते उनलाई हृदयघात भई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गराएपछि घातक रोग बापतको बीमा दाबी पेस गर्दा नेपाल लाइफले भुक्तानी दिन अस्वीकार गर्‍यो ।

    कम्पनीले अल्का अस्पतालको पुरानो रिपोर्ट देखाउँदै बिमित विगत २१ वर्षदेखि उच्च रक्तचापको औषधी सेवन गरिरहेकाले ‘तथ्य लुकाएको’ र गङ्गालालको रिपोर्ट ‘Unstable Angina’ भएकाले घातक रोगको परिभाषा बुँदा १० मा नपर्ने दाबी गरेको थियो। कम्पनीको सो निर्णयविरुद्ध बिमित रिजालले २०८० साउन २५ गते नेपाल बीमा प्राधिकरणमा उजुरी दर्ता गराएका थिए ।

    बीमा प्राधिकरणको निर्देशन र कम्पनीको पुनरावेदन

    नेपाल बीमा प्राधिकरणले गङ्गालाल राष्ट्रिय हृदय केन्द्रसँग प्राविधिक राय माग गर्दा अस्पतालले बिमितको ECG र Troponin 1 पोजेटिभ रहेको, Ischemic Chest Pain भएको र Angioplasty समेत भइसकेकाले प्रथम पटकको हृदयघात भएको स्पष्ट पारेको थियो ।

    सो आधारमा प्राधिकरणले उच्च रक्तचाप मात्रै हृदयघातको एकमात्र कारक नभएको र कम्पनीले भुक्तानी दिनुपर्ने ठहर गर्दै २०८१ पुस ४ गते दाबी भुक्तानीको आदेश दियो । तर नियम अनुसार भुक्तानी दिनुको सट्टा नेपाल लाइफका कार्यकारी प्रमुख प्रवीण रमण पराजुलीले प्राधिकरणको फैसला बदर गरी गैरकानूनी बीमा दाबी खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराएका थिए ।

    उच्च अदालत पाटनको कडा फैसला: स-साना छिद्र खोजेर भुक्तानी रोक्न नमिल्ने

    उच्च अदालत पाटनका माननीय न्यायाधीश गीता प्रसाद तिम्सिना र राजुकुमार खतिवडाको संयुक्त इजलासले २०८२ चैत १० गते फैसला गर्दै बीमा प्राधिकरणकै निर्णय सदर गरेको छ ।

    अदालतको फैसलामा बीमा गराउनु अघि डाक्टरले जाँच गर्दा ‘रक्तचाप’ को विवरण कोठा खाली राखिएको र नियमित औषधी सेवन गरी नियन्त्रणमा रहेको उच्च रक्तचाप भएकै आधारमा हृदयघातको दाबी रोक्न नमिल्ने उल्लेख छ ।

    बीमा भविष्यको जोखिम व्यवस्थापनका लागि गरिने भएकाले बीमा कम्पनीहरूले स-साना प्राविधिक छिद्र र बहानाबाजी बनाएर भुक्तानी रोक्न नपाउने र पूर्वविद्यमान अवस्थाको गलत व्याख्या गरी जोखिम बहनबाट पन्छिन नमिल्ने कडा निष्कर्ष अदालतले निकालेको छ।

    वित्तीय सूचकमा पहिरो : नाफा २८.७५% ले घट्यो, तरल नगद आधा भयो

    अदालती कारबाही र बिमितहरूसँगको विवादका बीच नेपाल लाइफको वित्तीय प्रदर्शनमा पनि ठूलो गिरावट आएको छ। चालु आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा २८.७५% ले घटेर १५.३५ करोडमा सीमित भएको छ (गत आवको सोही अवधिमा २१.५५ करोड थियो)।

    कम्पनीको प्रति शेयर आम्दानी ३२.१५% ले घटेर ९.५५ बाट ६.४८ मा ओर्लिएको छ । प्रति शेयर खुद सम्पत्ति ७.५०% ले घटेर १२७.७८ मा झरेको छ भने सञ्चित नाफा ३३.४१% ले घटेर ९२.८६ करोडमा सीमित भएको छ ।

    कम्पनीको शेयरधनी कोषको प्रतिफल ६.९१% बाट घटेर ५.०७% र सम्पत्तिमा प्रतिफल ०.३३% बाट घटेर ०.२०% मा संकुचित भएको छ भने कम्पनीको नगद तथा नगद सरहको मौज्दात ४९.११% ले घटेर १६.९० अरबबाट ८.६० अरबमा सीमित भएको छ ।

    त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी खर्च २९.६३% ले बढेर ५.३७ अरब पुगेको छ भने अन्य सञ्चालन खर्च २०२.७९% ले बढेर २४.८१ करोड पुगेको छ ।

    यद्यपि, कम्पनीको कुल बीमा शुल्क आर्जन १०.०५% ले बढेर १४.८६ अरब र प्रथम वर्ष बीमा शुल्क १९.०३% ले बढेर ३.३० अरब पुग्नुका साथै कुल सम्पत्ति १५.९४% ले बढेर ३.०३ खरब पुगेको छ ।

    नेपाल लाइफले व्यवसायको आकार र कुल सम्पत्ति विस्तार गर्न सफल भए तापनि बिमितको वैध दाबी भुक्तानीमा अल्झाउ सिर्जना गर्ने बदनियतपूर्ण कार्य, अदालतबाट व्यहोर्नुपरेको पराजय र खुद नाफा तथा नगद प्रवाहमा आएको उच्च गिरावटले कम्पनी क्रमशः सङ्कटतर्फ उन्मुख भइरहेको संकेत गर्दछ ।

    केही समय अगाडि कम्पनीकाे वार्षिकाेत्सव कार्यक्रममा अभिकर्ताहरूले आन्दाेलन नै गरेका थिए । जसले कम्पनीकाे व्यवसायकाे आकार ठूलाे भएपनि कतै कम्पनी समस्यामा त पर्दै गएकाे छैन भन्ने आशंका पैदा गराएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images