images
images
  • गुरु नानक जयन्तीमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्ती ९प्रकाश पर्व० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले गुरु नानक जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सिख धर्मका प्रवर्तक गुरु नानकले समाजमा विद्यमान अन्धविश्वास, रूढिवादी परम्परा, जातीय विभेद र असमानता अन्त्य गर्दै समतामूलक तथा न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उल्लेख गर्नुभएको छ ।

    गुरु नानकले दिनुभएको सत्य, करुणा, परोपकार, सहिष्णुता र मानवसेवाको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ । उनले गुरु नानक जयन्तीले सबैलाई सत्य, न्याय र मानव कल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेको छ ।

    यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले गुरु नानक जयन्ती ९प्रकाश पर्व०, २०८३ का अवसरमा सिख धर्मावलम्बीसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    उपराष्ट्रपति यादवले गुरु नानकलाई धार्मिक अगुवाका रूपमा मात्र नभई सामाजिक चेतना, नैतिक जागरण र मानवीय एकताका अग्रदूतका रूपमा स्मरण गर्नुभएको छ। उहाँले मानवतालाई केन्द्रमा राख्दै विविधताबीच एकता, परस्पर सम्मान, सत्यनिष्ठा, करुणा र सेवाभावको जीवनदर्शन अवलम्बन गर्न गुरु नानकले प्रेरणा दिएको उल्लेख गरेको छ ।

    गुरु नानकका विचारले मानव मर्यादा, सहिष्णुता र सहयोगका मूल्यलाई सुदृढ बनाउँदै समतामूलक, सौहार्दपूर्ण र सहअस्तित्वमा आधारित समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images