images
images
  • भारतको अनुदानमा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन शिलान्यास

    काठमाडौं – नेपालको पेट्रोलियम पदार्थ आपूर्ति प्रणालीलाई थप व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले भारतको अनुदानमा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा क्षेत्रीय इन्धन भण्डारण टर्मिनल निर्माण हुने भएको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले सोमबार संयुक्त रूपमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेको हो ।

    भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म निर्माण हुने यो नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन आयोजना हो। परियोजना सम्पन्न भएपछि भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्न सडकमार्गमा निर्भर हुनुपर्ने अवस्था घट्ने र पूर्वी नेपालमा इन्धन आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ ।

    नेपाल आयल निगमका अनुसार आठ इन्च व्यासको पाइपलाइन भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर गरी कुल ५० किलोमिटर लामो हुनेछ । पाइपलाइनबाट ल्याइएको इन्धन सुरक्षित रूपमा भण्डारण गर्न झापाको चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्वचालित क्षेत्रीय भण्डारण टर्मिनल निर्माण गरिनेछ ।

    भण्डारण गृहमा पेट्रोलका लागि दुई हजार २०० किलोलिटर क्षमताका तीनवटा र डिजेलका लागि चार हजार १०० किलोलिटर क्षमताका तीनवटा भर्टिकल ट्याङ्क निर्माण गरिने निगमले जनाएको छ । भण्डारण गृह निगमको झापास्थित आफ्नै २३ बिघा तीन कट्ठा जग्गामा निर्माण हुनेछ ।

    परियोजनाका लागि कुल ११ अर्ब १४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यसमध्ये पाइपलाइन निर्माणमा चार अर्ब २७ करोड र ग्रिनफिल्ड क्षेत्रीय टर्मिनल निर्माणमा छ अर्ब ८७ करोड रुपैयाँ खर्च हुनेछ। दुवै संरचनाको निर्माण इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले गर्ने नेपाल आयल निगमले जनाएको छ ।

    निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार परियोजना सम्पन्न भएपछि कोशी प्रदेशका साथै मधेश प्रदेशका सप्तरी र सिराहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुनेछ । यसले पूर्वी तथा मध्य तराई क्षेत्रमा इन्धन ढुवानी र भण्डारण व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    १८ हजार ९०० किलोलिटर इन्धन भण्डारण क्षमता थपिने

    नेपाल आयल निगमसँग हाल डिजेल, पेट्रोल, मटितेल र हवाई इन्धन गरी एक लाख दुई हजार किलोलिटर भण्डारण क्षमता रहेको छ। चारआलीमा नयाँ भण्डारण गृह निर्माण भएपछि थप १८ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ। यसले इन्धनको माग बढ्ने समयमा समेत आपूर्ति व्यवस्थापन सहज बनाउन सहयोग पुग्ने निगमको विश्वास छ ।

    निगमका कार्यकारी निर्देशक साहका अनुसार परियोजनाका लागि इन्डियन आयल कर्पोरेसनले पाइपलाइनको विस्तृत इन्जिनियरिङ तथा रुट सर्वेक्षण र टर्मिनलको डिजाइन तथा नक्साङ्कनको काम सम्पन्न गरिसकेको छ। औपचारिक शिलान्याससँगै निर्माण प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिए ।

    परियोजना निर्माणका लागि ५४ महिनाको अवधि निर्धारण गरिएको भए पनि आइओसीले ३३ महिनाभित्रै काम सम्पन्न गर्ने योजना बनाएको साहले बताए । निर्धारित समयमै निर्माण सम्पन्न भए पूर्वी नेपालको पेट्रोलियम आपूर्ति प्रणालीमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ ।

    पाइपलाइन सञ्चालनमा आएपछि सडकमार्गबाट हुने इन्धन ढुवानीमा निर्भरता घट्ने, ढुवानी खर्च बचत हुने र भन्सार नाकामा ट्याङ्करका कारण हुने जाम कम हुने निगमको भनाइ छ। त्यस्तै, इन्धन ढुवानीका क्रममा हुने प्रदूषण न्यूनीकरण तथा आपूर्ति व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

    निगमले यस परियोजनालाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने पूर्वाधारमा सीमित नभई नेपालको ऊर्जा सुरक्षा, आपूर्ति व्यवस्थापन र आर्थिक बचतसँग जोडिएको महत्वपूर्ण आयोजना मानेको छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति प्रभावित हुने अवस्थामा पर्याप्त भण्डारण क्षमता र वैकल्पिक ढुवानी संरचनाले देशको आपूर्ति प्रणालीलाई थप सुरक्षित बनाउन सक्नेछ ।

    मोतिहारी–अमलेखगन्ज पाइपलाइन नेपाल सरकारलाई हस्तान्तरण

    प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना पनि नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । भारतको सहयोगमा निर्माण भएको उक्त परियोजनाको लागत तीन अर्ब ९५ करोड रुपैयाँ रहेको थियो । यसमध्ये इन्डियन आयल कर्पोरेसनको तीन अर्ब २० करोड र नेपाल आयल निगमको ७५ करोड रुपैयाँ लगानी रहेको थियो ।

    भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म निर्माण गरिएको उक्त पाइपलाइन २०७६ भदौदेखि नियमित सञ्चालनमा छ। पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात हुन थालेपछि सडकमार्गबाट ट्याङ्कर प्रयोग गरी इन्धन ढुवानी गर्नुपर्ने निर्भरता घटेको र आपूर्ति व्यवस्था सहज भएको निगमले जनाएको छ ।

    मोतिहारी–अमलेखगन्ज पाइपलाइनको अनुभवपछि सिलिगुडी–झापा पाइपलाइन निर्माण प्रक्रिया अघि बढ्नुलाई नेपालको पेट्रोलियम आपूर्ति पूर्वाधार विस्तारको अर्को महत्वपूर्ण चरणका रूपमा हेरिएको छ । नयाँ आयोजना सम्पन्न भएपछि भारतबाट पूर्वी नेपालमा इन्धन आपूर्ति गर्न थप सहज हुनेछ। साथै, भण्डारण क्षमता विस्तारले इन्धनको नियमित उपलब्धता र आपत्कालीन अवस्थाको व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।– गोर्खापत्र

    प्रतिक्रिया दिनुहोस्
    images
    images