काठमाडौं– शहीद दिवसका दिन १६ माघ सार्वजनिक बिदा भए पनि राष्ट्रपति रामचन्द्र पौडेलको १८–२१ माघको जापान भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालय आंशिक रूपमा खुला राखिएको थियो ।
पत्रकार सम्मेलनका क्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले फिर्ता बोलाइए पनि राजीनामा नदिएका पाँच राजदूत दैनिक मन्त्रालयमा हाजिर गर्न आउने र तलबभत्ता बुझ्ने जानकारी दिए ।
जेनजी आन्दोलनपछि सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको थियो ।
तीमध्ये अमेरिका, चीन, बेलायत, कतार, मलेसिया र रुसका राजदूतले राजीनामा दिए पनि जर्मनी, इजरायल, साउदी अरब, स्पेन र जापानका राजदूतले अझै राजीनामा दिएका छैनन् र मन्त्रालयमा हाजिर गरिरहेका छन् ।
अदालतको अन्तरिम आदेशपछि उनीहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको थियो ।
विज्ञहरूका अनुसार फिर्ता बोलाइएपछि पनि राजीनामा नदिई तलब सुविधा लिनु पदको गरिमाविपरीत हो ।
यता, अघिल्लो सरकारले नियुक्त गरेका भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूतलाई भने वर्तमान सरकारले निरन्तरता दिएको छ ।






















