काठमाडौं– नेकपा (एमाले)ले आगामी फागुनको पहिलो साताभित्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
घोषणापत्र लेखनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा समिति गठन गरिएको छ, जसमा उपाध्यक्षहरू, महासचिव र वरिष्ठ नेताहरू समावेश छन् ।
समितिले विषयविज्ञहरूसँग छलफल गरी सुझाव संकलन गरिरहेको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बताएका छन् ।
एमालेले यसपटक घोषणा–पत्रमा पाँच वर्षभित्र कार्यान्वयन गर्न सकिने यथार्थपरक कार्यक्रम मात्र समेट्ने र अत्यधिक महत्वाकांक्षी वाचा नगर्ने जनाएको छ ।
घोषणापत्रमा पूर्वाधार विकास, आर्थिक समृद्धि, सामाजिक सुरक्षा, कृषि उन्नयन, रोजगारी सिर्जना, ऊर्जा–जलस्रोतको उपयोग, राजनीतिक स्थायित्व, युवा उद्यमशीलता र नयाँ पुस्ताको भावना सम्बोधनजस्ता विषय प्राथमिकतामा रहनेछन् ।
साथै सामाजिक न्यायसहितको लोकतन्त्र, संवैधानिक सर्वोच्चता, विधिको शासन, मानव अधिकार संरक्षण, सकारात्मक विभेद, असमानता र गरिबी न्यूनीकरण, शिक्षा–स्वास्थ्य–खानेपानीमा
लगानी वृद्धि तथा सामाजिक सुरक्षाको दायरा विस्तारलाई पनि घोषणा–पत्रमा समेटिने एमालेले जनाएको छ ।






















