काठमाडौं– पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा नेकपा सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ आइतबार विशेष अदालतमा हुँदैछ ।
न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो। अख्तियारले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
तत्कालीन प्रधानमन्त्रीका रूपमा पदको दुरुपयोग गरी हदबन्दीभन्दा बढी जग्गा कारोबार स्वीकृत गरेको आरोप अभियोगपत्रमा उल्लेख छ ।
त्यस्तै रूपन्देही जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसम्बन्धी संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतमा सो विषयको रिट विचाराधीन रहेकाले अन्तिम आदेशपछि मात्र निर्णय हुने अदालतले जनाएको छ ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
यसअघि अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।






















