images
images
  • साउदी जाने नेपालीका लागि खुसीको खबर : श्रम सम्झौतामा हस्ताक्षर, श्रमिकले कानुनअनुसार सेवा-सुविधा पाउने

    काठमाडौं- साउदी अरबमा कार्यरत नेपाली श्रमिकले त्यहाँको कानुनले आप्रवासी कामदारलाई दिएको सुविधा प्राप्त गर्ने भएका छन् ।

    श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने गरी आइतबार रियादमा दुवै देशबिच भएको श्रम सम्झौताले पीडित कामदारलाई त्यहाँको कानुनअनुसार उपचार पाउने बाटो खोलेको हो ।

    श्रमिक भर्नासम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेको नेपाली दूतावास, रियादले जनाएको छ । सम्झौता भएसँगै नेपाली कामदारलाई सामाजिक सुरक्षा, दैनिक काम गर्ने अवधि, न्यूनतम तलब सुविधा, कामदारमैत्री वातावरण, साप्ताहिक तथा वार्षिक बिदा, बिरामी बिदा, जटिल रोगको उपचार, क्षतिपूर्तिलगायतको पनि सुनिश्चित भएको छ ।

    द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रममन्त्रीबिच द्विपक्षीय बैठक भएको थियो । मन्त्री भण्डारीले श्रम सम्झौताले नेपाल–साउदी अरबबिच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।

    सम्झौताले नेपाली साधारण श्रमिकको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत प्रभावकारी बनाउन महत्वपूर्ण दस्ताबेज हुनेमा विश्वस्त रहेको भन्दै मन्त्री भण्डारीले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको हकहितको रक्षा र रोजगारको सुरक्षा भएको उल्लेख गरेका छन् ।

    काफला प्रणाली अन्त्य भएपछि दुई वर्षको करार अवधि सकिएपछि घर फर्कन पाउने र कम्पनी परिवर्तन गर्न पाउने सुविधा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images