काठमाडौं- परीक्षा उत्तीर्ण गरेर म्याद सकेका कारण कोरिया जान युवाहरू १० दिनदेखि धर्नामा बसेका छन् ।
परीक्षा उत्तीर्ण गरेर दुई वर्षसम्म पनि रोजगारीका लागि कोरिया जान नपाएपछि ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान परिसरमा उनीहरू धर्नामा बसेका हुन् ।
सन् २०२२ को भाषा परीक्षा उत्तीर्ण गरेर सन् २०२३ देखि रोस्टरमा परेका ६ हजारभन्दा बढी युुवा पीडित भएकाले धर्ना दिन बाध्य भएको काभ्रेका युवा हर्क लामाले बताए । ‘तीन वर्षदेखि कोरियाको रोजगारी सपना देखेर बसेका छौँ । तर, सरकारको प्रक्रियागत त्रुटिका कारण कोरियाली रोजगारदातासमक्ष हाम्रो फाइल पेस नहुँदा कोरिया जान वञ्चित भएका छौँ,’ लामाले भने, ‘त्यसैले, हाम्रो उचित व्यवस्थापन हुनुपर्ने माग छ ।’
सरकारले इपिएस प्रणालीमार्फत कोरियन परीक्षा उत्तीर्ण गरेकालाई रोस्टरमा राखेर कोरिया पठाउन सहजीकरण गर्दै आएको छ । एकपटक भाषा परीक्षा दिएपछि दुई वर्षका लागि मान्य हुने मापदण्ड छ ।
तर, दुई वर्षमा पनि रोजागरीका लागि कोरिया जान नपाए पुनस् सुरुदेखि परीक्षा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था छ । सोही कारण तालिम केन्द्रपरिसरमा दैनिक दुई सय हाराहारी युवा भेला भएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिइरहेका छन् । यसअघि उनीहरूले इपिएस कोरिया शाखा, ग्वार्कोमा समेत धर्ना दिएका थिए ।
भाषा परीक्षा उत्तीर्ण नौ हजार युवाको रोजगारी अन्योलमा
कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये आठ सय ५३ युवाको कोरिया जाने समय सकिएको छ । थप तीन हजार सात सय ९६ युवाको समयावधि फेबु्रअरी अन्त्यमा सकिँदै छ ।
यसरी भाषा परीक्षा उत्तीर्णमध्ये चार हजार ६ सय ४९ युवाको कोरियाली रोजगारी गुमिसकेको छ । किनभने फेब्रुअरी अन्त्यमा समय सकिने युवाको अहिलेसम्म रोस्टरमा पालो नआएकाले आगामी दिनमा प्रक्रिया टुंग्याएर कोरिया जान सम्भव छैन । इपिएस शाखाका अनुसार अबको एक वर्षभित्र कुल आठ हजार नौ सय दुईजना युवाको समायावधि सकिने जोखिम छ ।
अहिले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका करिब १५ हजार युवाले कोरियामा रोजगारीको सपना देखिरहेका छन् । यीमध्ये उत्पादनतर्फ आठ हजार युवा छन् । त्यस्तै, कृषितर्फ तीन हजार, पानीजहाजतर्फ दुई हजार र पुन: कोरिया जानका लागि करिब दुई हजार युवा लाइनमा रहेको कार्यालयले जनाएको छ ।
उक्त संख्यामा यो वर्ष ५३ सय थपिन लागेका छन् । गत असोजमा लिइएको पहिलो चरणको भाषा परीक्षामा एक लाख तीन हजार युवा सामेल भएका थिए । कोरियाले यो वर्ष उत्पादनतर्फ ३५ सय र कृषितर्फ १८ सय युवा लैजाने गरी कोटा निर्धारण गरेको छ ।
सरकारसँग वार्ता भए पनि छैनन् सन्तुष्ट
पीडित युवाले गत ६ माघमा इपिएस शाखा कार्यालय, ग्वार्कोमा आन्दोलन गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएर युवाको समस्या सुनेको थियो ।
७ माघमा जिल्ला प्रशासन कार्यालय, ललितपुरमा भएको छलफलमा युवाको माग सम्बोधन गर्ने प्रतिबद्धता सरकारी पक्षले जनाएको थियो ।
त्यसपछि श्रममन्त्री राजेन्द्रसिंह भण्डारीकै उपस्थितिमा ८ माघमा भएको छलफलमा कूटनीतिक माध्यमबाट रोजगारीको समस्या समाधान गर्ने सरकारले आश्वासन दिएको थियो ।
मन्त्रालयबाट एक टोली कोरिया नै पठाएर समस्या हल गर्ने प्रतिबद्धतासमेत भएको थियो । तैपनि, सुनुवाइ नभएपछि धर्ना दिन थालेको लामाले जानकारी दिए । ‘सरकारले आश्वासन दिने काम मात्र गर्यो, हाम्रो काम केही भएन,’ उनले भने, ‘एकपटक कोरियाली अधिकारीसँगै वार्तामा बसौँ न भन्दा पनि सुनुवाइ भएन ।’ -पत्रपत्रिकाबाट























