images
images
  • महानगरदेखि गाउँपालिकासम्म नेतृत्वविहीन, पालिका प्रमुख–उपप्रमुख प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा

    काठमाडौँ— स्थानीय तहका जनप्रतिनिधि पनि कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचनतर्फ आकर्षित हुँदा केही पालिका नेतृत्वविहीन बनेका छन् । महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले पदबाट राजीनामा दिएर संघीय संसद् प्रवेशको प्रयास थालेका हुन् ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिएर झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवारी दिएका छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि राजीनामा दिएर चितवन–३ बाट उम्मेदवारी दर्ता गरेकी छन् ।

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले श्रम संस्कृति पार्टी खोलेर सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवारी दिएका छन् । पालिकामा संघ हाबी हुँदा अपेक्षित काम गर्न नसकिएको भन्दै उनले संघमै पुगेर जनताको पक्षमा काम गर्ने बताएका छन् ।

    नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जसपा नेपालबाट बाँके–२ मा उम्मेदवारी दिएका छन् । मधेशी मुद्दा ओझेलमा परेको भन्दै उनले पालिका छाड्ने निर्णय गरेको बताएका छन् ।

    कैलालीको टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारूको राजीनामापछि नगरपालिका प्रमुख–उपप्रमुख दुवैविहीन बनेको छ । उपप्रमुख निलम्बनमा रहेकाले नगरसभा, कार्यपालिका, स्वास्थ्य बोर्ड, नक्सा पुनरावेदनजस्ता काम प्रभावित भएको नगरपालिकाले जनाएको छ ।

    स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाललगायत स्थानीय तहका अनुभवी जनप्रतिनिधि पनि प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।

    विश्लेषकहरूका अनुसार स्थानीय तहमा पाँच वर्षका लागि जनादेश पाएका जनप्रतिनिधिले अवधि पूरा नगरी संघीय राजनीतितर्फ जानु गैरजिम्मेवार प्रवृत्ति हो । यसले स्थानीय सेवा प्रवाह, विकास आयोजना र जनताको भरोसा कमजोर बनाउने उनीहरूको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images