काठमाडौं- बजारको सुरू, उच्च, न्यून र अन्तिम विन्दुको आधारमा मैनबत्ती चित्र अर्थात् क्यान्डल स्टिक बन्छ। यस्तो चित्रहरूको शृंखलाबाट बजार प्रवृत्तिको विश्लेषण गरिन्छ।
१८ औं शताब्दीमा चामलका व्यापारीले मूल्य अनुमानका लागि यो प्राविधिक विश्लेषण विकास र प्रयोग गरेका थिए। यसरी बन्नेमध्ये ९ वटा यस्ता प्रवृत्ति छन्, जसले बजार बढ्ने दरिलो संकेत गर्छ। आज तिनै प्रवृत्तिको चर्चा गरेका छौं।
१. किकिङ बुलिस
कसरी चिन्ने : पहिलो दिन दुवैतर्फ धागो नभएको कालो मैनबत्ती हुन्छ। दोस्रो दिन दुवैतर्फ धागो नभएको सेतो मैनबत्ती हुन्छ र अघिल्लो दिनको अन्तिम मूल्य वा विन्दु माथि बजार वा कारोबार खुल्छ।
यसको अर्थ : यो प्याटर्न बजार माथि जान सक्ने निकै बलियो संकेत हो। यस्तो संकेत देखिदा यसअघि बजार कुन प्रवृत्तिमा थियो, त्यो महत्त्वपूर्ण हुँदैन।
२. म्याट होल्ड बुलिस
कसरी चिन्ने : पहिलो दिन लामो सेतो मैनबत्ती हुन्छ। दोस्रो दिन अघिल्लो दिनको अन्तिम मूल्य वा विन्दु माथि बजार वा कारोबार खुल्छ र कालो मैनबत्ती बन्छ। दोस्रो, तेस्रो र चौथो दिन सानो शरीर भएका मैनबत्ती हुन्छन्। जसले छोटो समयको घट्दो प्रवृत्ति देखाउँछ। तर पहिलो दिनको सुरू मूल्य वा विन्दुभन्दा तल झरेको हुदैन। पाँचौं दिन लामो सेतो मैनबत्ती हुन्छ र पहिलो दिनको बन्द मूल्य वा विन्दु भन्दा माथि रहेर बजार बन्द हुन्छ।
यसको अर्थ : बजार बढ्दो क्रममा रहँदा लामो सेतो मैनबत्ती हुन्छ र त्यसपछि साना मैनबत्तीहरू आउँछन् जसले अस्थायी गिरावट देखाउँछन्। पाँचौं दिन खरिददारी बढ्छ र मूल्य वा परिसूचक उच्चमा पुगेर बन्द हुन्छ। बजार घटाउने र प्रवृत्ति उल्ट्याउने प्रयास असफल भएको देखिन्छ र बुलिस प्रवृत्ति जारी रहने संकेत दिन्छ।
३. मर्निङ डोजी स्टार बुलिस
कसरी चिन्ने : पहिलो दिन लामो कालो मैनबत्ती हुन्छ। दोस्रो दिन घट्दो क्रममा नै अघिल्लो दिनको भन्दा तलबाट कारोबार खुलेर खासै शरीरको अकार नभएको सानो मैनबत्ती (डोजी) हुन्छ। तेस्रो दिन सेतो मैनबत्ती हुन्छ।
यसको अर्थ : घट्दो प्रवृत्तिमा बजार पहिलो दिन लामो कालो मैनबत्ती बनेको हुन्छ। दोस्रो दिन तलबाट खुले पनि सानो दायरामा कारोबार हुँदा मूल्य झन्डै उस्तै रहन्छ। तेस्रो दिनको सेतो मैनबत्तीले बियरिस प्रवृत्ति उल्टिएको पुष्टि गर्छ।
४. मर्निङ स्टार बुलिस
कसरी चिन्ने : पहिलो दिन लामो कालो मैनबत्ती हुन्छ। दोस्रो दिन घट्दो क्रममै अघिल्लो दिनको भन्दा तलबाट कारोबार खुल्छ। र, सानो शरीर भएको सानो मैनबत्ती हुन्छ। तेस्रो दिन सेतो मैनबत्ती हुन्छ।
यसको अर्थ : घट्दो प्रवृत्तिमा बजार पहिलो दिन लामो कालो मैनबत्ती बनेको हुन्छ। दोस्रो दिन सानो मैनबत्ती बन्छ। र, यसले लगानीकर्तामा रहेको अनिश्चितता देखाउँछ। तेस्रो दिनको सेतो मैनबत्तीले बियरिस प्रवृत्ति उल्टिएको पुष्टि गर्छ।
५. राइजिङ थ्री मेथड्स बुलिस
कसरी चिन्ने : पहिलो दिन लामो सेतो मैनबत्ती बन्छ। दोस्रो, तेस्रो र चौथो दिन सानो वास्तविक शरीर भएका मैनबत्तीहरू हुन्छ। यसले पनि छोटो समयको घट्दो प्रवृत्ति देखाउँछ। तर पहिलो दिनको सुरू मूल्य वा विन्दुभन्दा तल झरेको हुँदैन। पाँचौं दिन लामो सेतो मैनबत्ती हुन्छ र पहिलो दिनको बन्द मूल्यभन्दा माथि बन्द हुन्छ।
यसको अर्थ : बुलिस प्रवृत्ति नै हुँदा बीचका साना मैनबत्तीहरू बन्नु भनेको बजारले लिएको छोटो विश्राम लिएको मानिन्छ। पाँचौं दिन बजार नयाँ उच्चतर्फ जान्छ। यो माथिल्लो ट्रेन्ड जारी रहने संकेत हो।
६. साइड-बाई-साइड ह्वाइट लाइन्स बुलिस
कसरी चिन्ने : पहिलो दिन सेतो मैनबत्ती हुन्छ। दोस्रो दिन मूल्य वा बजार माथिबाट खुल्छ र सेतो मैनबत्ती बन्छ। तेस्रो दिनको मैनबत्तीको शरीरको आकार र बन्द मूल्य वा विन्दु एउटै हुन्छ।
यसको अर्थ : बुलिस प्रवृत्तिमा लगातार तीन सेतो मैनबत्ती देखिनु र पछिल्ला दुई मैनबत्ती उस्तै हुनुले माथिल्लो ट्रेन्ड बलियो बन्दै गएको संकेत गर्छ।
७. थ्री इन्साइड अप बुलिस
कसरी चिन्ने : पहिलो दुई दिनमा बुलिस हरामी आकृति बन्छ। यो आकृतिमा पहिलो दिन बनेको लामो कालो मैनबत्तीले दोस्रो दिन बनेको सेतो मैनबत्तीको शरीर पूरै ढाकेको हुन्छ। तेस्रो दिन सेतो मैनबत्ती हुन्छ र दोस्रो दिनभन्दा माथि बजार वा मूल्य बन्द हुन्छ।
यसको अर्थ : यो प्रवृत्ति साधारण हरामी भन्दा अझ बढी विश्वसनीय हुन्छ। तेस्रो दिनको सेतो मैनबत्तीले बुलिस प्रवृत्ति फर्किने पुष्टि गर्छ।
८. आउटसाइड अप बुलिस
कसरी चिन्ने : पहिलो दुई दिनमा बुलिस इन्गल्फिङ आकृति बन्छ। यो आकृतिमा पहिलो दिन बनेको सानो कालो मैनबत्तीलाई दोस्रो दिन बनेको सेतो मैनबत्तीको शरीरले पूरै ढाकेको हुन्छ। तेस्रो दिन सेतो मैनबत्ती हुन्छ र दोस्रो दिनभन्दा माथि बन्द हुन्छ।
यसको अर्थ : यसले साधारण इन्गल्फिङले भन्दा बजार बढ्ने अझ बलियोसँग पुष्टि गर्छ। तेस्रो दिनले बजार बुलिस प्रवृत्तिमा गएको संकेत दिन्छ।
९. थ्री ह्वाइट सोल्जर्स बुलिस
कसरी चिन्ने : लगातार तीन दिन भर्याङ शैलीमा लामो सेतो मैनबत्ती देखिन्छन्। प्रत्येक दिन अघिल्लो दिनभन्दा माथि बजार वा मूल्य बन्द हुन्छ। प्रत्येक दिन अघिल्लो दिनको सुरू र अन्त्य मूल्य वा विन्दुको बीचमा रहेर खुल्छ र हरेक दिन अघिल्लो दिनको भन्दा नयाँ उचाइ बनाएर बन्द हुन्छ।
यसको अर्थ : घट्दो प्रवृत्तिपछि तीन वटा सेतो मैनबत्ती लगातार आउनु भनेको बुलिस प्रवृत्तिमा जान लागेको बलियो संकेत हो। बजार क्रमशः स्थिर रूपमा माथि जाँदैछ भन्ने जनाउँछ।





















