काठमाडौं– इरानले आफूविरुद्ध सैन्य आक्रमण भए अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना प्रमुख सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ ।
इरानमा चर्किँदै गएको सरकारविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार सैन्य कारबाहीको चेतावनी दिँदै आएका थिए । त्यसको प्रत्युत्तरमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएका थिए ।
इरानी चेतावनीपछि अमेरिकाले कतार, बहराइन लगायतका देशहरूमा रहेका सैनिक अड्डाबाट केही कर्मचारी फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार कतारको अल उदैदस्थित अमेरिकी सैनिक अड्डाबाट राष्ट्रपति ट्रम्पको निर्देशनमा केही सैनिक कर्मचारी फिर्ता बोलाइसकिएको छ ।
कतारस्थित उक्त सैनिक अड्डा यसअघि पनि इरानको निशानामा परिसकेको थियो । गत जुन महिनामा अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा शक्तिशाली बम आक्रमण गरी ती संरचनाहरू ध्वस्त बनाएको थियो । त्यसको जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा हवाई आक्रमण गरेको थियो । यसपालि पनि इरानबाट सम्भावित आक्रमण हुन सक्ने आशंकामा कर्मचारी फिर्ता बोलाइएको सिएनएनले जनाएको छ ।
अमेरिकाले सैनिक कर्मचारी फिर्ता बोलाएपछि कतार सरकारले आफ्ना नागरिक र बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै उपायहरू कार्यान्वयन गरिने जनाएको छ ।
यस कदमलाई अर्को कोणबाट पनि हेरिएको छ । ह्वाइट हाउसका केही अधिकारी र युरोपेली अधिकारीहरूले अमेरिकाले इरानमाथि सम्भावित आक्रमणको पूर्वतयारीस्वरूप मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाएको हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरोपेली दुई अधिकारीलाई उद्धृत गर्दै आगामी २४ घन्टाभित्र अमेरिकाले इरानमा हमला गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।
रोयटर्सका अनुसार एक जना इसराइली अधिकारीले पनि राष्ट्रपति ट्रम्पले सैन्य आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन्, यद्यपि आक्रमणको दायरा र समयबारे स्पष्ट जानकारी छैन ।
यसैबीच, इरानमा पछिल्ला दुई सातादेखि जारी सरकारविरोधी प्रदर्शन अहिलेसम्मकै सबैभन्दा हिंसात्मक बन्दै गएको छ । सुरुमा आर्थिक संकटविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनहरूमा झनै उग्र बनेपछि मृत्यु हुनेको संख्या तीव्र रूपमा बढिरहेको छ ।
इरानी अधिकारीहरूका अनुसार १७ दिनमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकी मानवअधिकार संस्थाहरूले मृतकको संख्या २६ सय नाघेको दाबी गरेका छन् । यस अवधिमा १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी प्रदर्शनकारीको समर्थन गर्दै सैन्य कारबाहीको चेतावनी दिँदै आएका छन् । सुरुमा उनले प्रदर्शनकारीहरूको सुरक्षाका लागि हस्तक्षेप गर्ने बताएका थिए भने पछि गोली प्रहार नरोकिए इरानी नेतृत्वमाथि आक्रमण गरिने चेतावनी दिएका थिए । मंगलबार फेरि ट्रम्पले प्रदर्शन जारी राख्न आग्रह गर्दै “अमेरिकाबाट सहायता आउँदैछ” भनेका थिए, तर त्यस सहायता के हो भन्नेबारे स्पष्ट पारेका छैनन् ।
तनाव बढ्दै गएपछि इरानका विदेशमन्त्री अब्बास अराक्ची र ट्रम्पका मध्यपूर्व मामिला हेर्ने विशेष दूत स्टिभ विटकोफबीच हुने भनिएको संवाद पनि स्थगित गरिएको छ ।
यसैबीच अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छाड्न निर्देशन दिएको छ । तेहरान हेर्ने ‘भर्चुअल’ अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै इरानमा जारी हिंसात्मक प्रदर्शन र सरकारी दमनका कारण अमेरिकी नागरिक असुरक्षित हुन सक्ने भन्दै देश छाड्न आग्रह गरेको हो ।
अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत हालसालै इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार लगाउने घोषणा पनि गरेको छ । यद्यपि त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन र ह्वाइट हाउसले कार्यान्वयनबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
पश्चिमी अधिकारीहरूका अनुसार आन्दोलनले इरानी सरकारलाई केही कमजोर बनाएको भए पनि तत्काल सत्ता ढल्ने सम्भावना कम देखिन्छ । सुरक्षा संयन्त्र अझै सरकारकै नियन्त्रणमा रहेको र सरकारी पक्षधर सञ्चारमाध्यमहरूले सरकार समर्थक विशाल जुलुस र सभालाई प्राथमिकताका साथ प्रसारण गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।
इरानका राष्ट्रपति मसुद पेजेशकियानले जनसमर्थन कायम रहँदासम्म शत्रुको प्रयास असफल हुने दाबी गरेका छन् ।


विश्व खबर 


















