images
images
  • कस्ता छन् सेयर मूल्य घटेपनि आकर्षण बढेका २ कम्पनी ?

    काठमाडौं– मंगलबार सेयर बजारमा सबभन्दा धेरै बढ्ने समूहमा वित्त समूह रह्यो। यो समूह समग्रमा २.८७ प्रतिशतभन्दा धेरैले बढ्यो। वित्त कम्पनीमा लगानीकर्ता आकर्षित हुन थालेसँगै यो समूहमा उच्च वृद्धि भएको हो।

    वित्त कम्पनीहरूमा पनि मंगलबार दुइटा चाहिँ धेरै आकर्षण हुने पाँच वटा कम्पनीभित्र पर्न सके। यी कम्पनी हुन्— जानकी फाइनान्स र गुडविल फाइनान्स। नजिकको उच्च मूल्यबाट यी दुई वित्त कम्पनीको सेयर मूल्य ५० देखि ६० प्रतिशतसम्म घटिसकेको छ।

    दुवै कम्पनीको वित्तीय अवस्था हेरौं।

    जानकी फाइनान्स
    जानकी फाइनान्सको सेयर अहिले प्रति कित्ता चार सय ३१ रूपैयाँमा कारोबार भइरहेको छ। २०८१ मंसिर २ गते जानकी फाइनान्सको सेयर मूल्य एक हजार ८३ रूपैयाँसम्म पुगेको थियो। त्यो समयमै आवश्यक पुँजी कोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले जानकीमाथि शीघ्र सुधारात्मक कारबाही गरेको थियो। त्यसलगत्तै कम्पनीको मूल्य घट्ने क्रममा रह्यो।

    लगातार तीन त्रैमाससम्म नोक्सानमा रहेको जानकी चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा भने नाफामा देखिएको छ। जानकीले गत साउनदेखि असोजसम्म २६ लाख ३७ हजार रूपैयाँ नाफा कमाएको छ। कम्पनीमा एक अर्ब १३ करोड रूपैयाँ सञ्चित नोक्सान छ।

    यति बराबरको नाफा कमाएपछि मात्रै यसले लाभांश वितरण गर्न सक्ने अवस्था रहन्छ। तर जानकीको निस्क्रिय कर्जामा सुधार हुन सकिरहेको छैन। चैतमा यस्तो कर्जा ४४.४१ प्रतिशत रहेकामा क्रमशः बढ्दै असोजमा ५३.८० प्रतिशत पुगेको छ।

    जानकीको प्रति सेयर आम्दानी एक रूपैयाँ ०७ पैसा छ। प्रति सेयर नेटवर्थ एक रूपैयाँ ९५ पैसा नोक्सानमा छ। जानकीले अन्तिम पटक २०७७/७८ मा १५।७८ प्रतिशत लाभांश दिएको थियो। जानकीको सेयर मूल्यले सोमबार र मंगलबार इन्गल्फिङ बुलिस आकृति बनाएको छ। यी दुई दिनमध्ये पहिलो दिन सुरू मूल्यभन्दा अन्त्यमा घटेर सानो कालो मैनबत्ती बनेको छ।

    दोस्रो दिन सोमबारको अन्तिम मूल्यभन्दा तलबाट कारोबार सुरू भएर बढ्दै सोमबारको सुरू मूल्यभन्दा निकै माथि पुगेर बजार बन्द भएको छ। यसले केही समय बजार बढ्ने संकेत गर्छ।

    जानकीको सेयर कारोबार पनि बढेको छ। साउन ११ पछि कै उच्च सेयर कारोबार भएको हो। सो समयमा जानकीको ६९ हजार कित्ता सेयर एकै दिन कारोबार भएको थियो। मंगलबार ५४ हजार कित्ता सेयर किनबेच भएको छ।

    गुडविल फाइनान्स
    त्यस्तै, गुडविल फाइनान्सको सेयर अहिले प्रतिकित्ता ६ सय ३७ रूपैयाँमा कारोबार भइरहेको छ। २०८१ भदौ १७ गते गुडविलको सेयर मूल्य एक हजार तीन सय ५३ रूपैयाँसम्म पुगेको थियो। २०८० चैतमा नोक्सानमा देखिएको गुडविल फाइनान्स त्यसपछि नाफामा देखिँदै आएको छ। यसको सञ्चित नोक्सान भने त्रैमासपिच्छे बढ्दै गएको छ।

    २०८० चैतमा ३९ करोड रूपैयाँ सञ्चित नोक्सान देखिएको थियो। २०८१ चैतमा ६५ करोड रूपैयाँसम्म पुगेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यस्तो नोक्सान ४९ करोड ५६ लाख रूपैयाँ छ।

    यति बराबरको नाफा कमाएपछि मात्रै यसले लाभांश वितरण गर्न सक्ने अवस्था रहन्छ। गुडविलले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नाफा पाँच करोड ३३ लाख रूपैयाँमा खुम्चिएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा यस्तो नाफा पाँच करोड ३६ लाख रूपैयाँ थियो। मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी सात करोड ५२ लाख रूपैयाँबाट घटेर सात करोड ३३ लाख रूपैयाँमा सीमित भएको छ।

    प्रति सेयर आम्दानी पाँच रूपैयाँ २३ पैसाबाट घटेर तीन रूपैयाँ ९५ पैसा भएको छ। प्रति सेयर नेटवर्थ दुई सय ३२ रूपैयाँ छ। गुडविलले अन्तिम पटक २०७७/७८ मा १३ प्रतिशत लाभांश दिएको थियो।

    गुडविलको सेयर मूल्यले सोमबार र मंगलबार दुवै दिन सेतो मैनबत्ती बनाएको छ। यसले मूल्य बढ्न सक्ने संकेत गर्छ। यदि बुधबार सेयर मूल्य घटे पनि आत्तिनु भने पर्दैन। यो अपसाइड ग्याप थ्री मेथड बुलिसको संकेत हुन सक्छ।

    बुधबार मूल्य घटे पनि सोमबारको अन्तिम मूल्य र मंगलबारको सुरू मूल्यबीचको दुरी छोपिने गरी कालो मैनबत्ती बन्यो भने थ्री मेथड बुलिसको संकेत हुन्छ। बुधबार यो संकेत पुष्टि हुन सेयर कारोबार ६ सय ४ रूपैयाँभन्दा कममा सुरू भएर बजार बन्द हुँदा मूल्य ६ सय ११ रूपैयाँभन्दा माथि नै रहनु पर्नेछ।

    यसले मूल्य बढ्न सक्ने संकेत गर्छ। यो संकेत दरिलो त होइन तर कमजोर पनि होइन। अर्थात् यसलाई मध्यम संकेत मानिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images