images
images
  • सैनिक अस्पतालमा निःशुल्क डायलाइसिस सेवा शुरु, काठमाडौं महानगर प्रमुख र प्रधान सेनापतिद्धारा शुभारम्भ

    काठमाडौं । काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा काठमाडौं महानगरपालिकाका मिर्गौला रोगीका लागि निःशुल्क हेमोडायलाइसिस सेवा शुरु भएको छ ।

    आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले निःशुल्क हेमोडायलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गरे ।

    काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका सेरो नेगेटिभ बिरामीका लागि निःशुल्क हेमोडायलाइसिस सेवा शुरु भएको हो ।

    सेवा शुभारम्भपछि संक्षिप्त प्रतिक्रिया दिंदै महानगरका प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसँग सहकार्य गरेको बताए । मिर्गौला सम्बन्धी रोग लाग्नुभन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तर्गत ३२ वटै वडाहरूमा प्रारम्भिक परीक्षणको सेवा शुरु भइसकेको उनले बताए ।

    महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

    सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज–५ पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि बिरामीले महानगरपालिकाको सिफारिश लिनुपर्ने जनाइएको छ ।

    अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४९८ वटा डायलाइसिस मेसिनबाट ३ हजार ५१६ जना विपन्न वर्गका बिरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ ।

    निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति बिरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६०० जना मिर्गौलाका नयाँ बिरामीहरू थपिइरहेको सरकारी तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images