काठमाडौं– नक्सालस्थित हिल्टन होटलको बिमा प्रक्रियामा अनियमितता भएको फेला परेपछि नेपाल बिमा प्राधिकरणले बमिा तथा पुनर्बिमा कम्पनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्राधिकरणले ओरियन्टल इन्स्योरेन्स कम्पनी, एलियन्ट पुनर्बिमा ब्रोकर, नेपाल पुनर्बिमा कम्पनी र हिमालयन पुनर्बिमा कम्पनीलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको हो ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको हिल्टन होटलको बिमा दाबीका क्रममा नियमविपरीत हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी) जोखिम पुनर्बिमा गरिएको विषयमा भएको अनुसन्धानका क्रममा गम्भीर त्रुटि भेटिएपछि कारबाही अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कारबाहीका निम्ति आफ्नो रायसहित अर्थ मन्त्रालयमा हालै पत्राचार गरेको छ । तर, के कारबाही गर्ने भन्ने खुलेको छैन । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मार्फत् थप अनुसन्धान गर्नुपर्ने रायसमेत दिइएको जनाइएको छ ।
बिमा ऐन २०७९ र बिमा नियमावली २०८१ अनुसार बिमा व्यवसायमा कसुर गरेको पुष्टि भएमा नगद जरिवानादेखि कम्पनीको कारोबार रोक्का र ५ वर्षसम्मको जेल सजायसमेत हुने व्यवस्था छ ।
यस प्रकरणमा बिमा ऐन २०७९ को दफा १४० अनुसारको कसुर भएकाले १४१ अनुसार कारबाही हुनसक्छ । १४० को उपदफा १ (ख) (ग) र (घ) अनुसारको कसुर ठहर हुनसक्ने भएकाले दफा १४१ को उपदफा ३ (घ), दफा ४ र दफा ५ अनुसारको दण्ड सजाय हुनसक्ने जनाइएको छ ।
निर्जीवन बिमा कम्पनीहरूले बिमांक बराबरको आरएसएमडीएसटी बिमा अनिवार्य रूपमा गर्नुपर्ने र यसको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीले सञ्चालन गर्ने पुलमार्फत गर्नुपर्ने व्यवस्था भए पनि हिल्टन होटलको उक्त जोखिम पुनर्बिमा नभएको पाइएको छ ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । यसमा हिल्टल होटलको प्रवद्र्धक शंकर समूहका सञ्चालक सुलभ अग्रवाल र उनका साझेदारसमेत रहेका विवादास्पद व्यवसायी दीपक भट्टको मिलेमतो रहेको देखिएपछि सीआईबीमार्फत् थप अनुसन्धान गर्नुपर्ने देखिएको हो ।
जेनजी प्रदर्शनपछि हिल्टनमा भएको क्षतिमा बिमा दाबी भुक्तानीका लागि ब्याक–डेट पोलिसी जारी गर्ने प्रयास भइरहेको रहस्य खुलेपछि अनुसन्धान अगाडि बढेको हो । हिल्टन होटलमा शंकर समूह र ‘बिचौलिया’ समूहका नाइके दीपक भट्टको पनि लगानी रहेको र यही समूहको प्रमुख लगानीमा हिमालयन पुनर्बिमा कम्पनी रहेको छ ।
साथै हिल्टनको आरएसएमडीएसटी बिमा हिमालयन पुनर्बिमामार्फत् नियमविपरीत अगाडि बढाइएको थियो । प्रारम्भिक सर्भेअनुसार होटलमा करिब ५ अर्ब रुपियाँ क्षति भएको अनुमान छ । यसमा हिमालयन पुनर्बिमाले २ अर्ब २५ करोड, नेपाल पुनर्बिमाले ७५ करोड र ओरियन्टलले १ अर्ब रुपियाँ भुक्तानी गर्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो ।
आरएसएमडीएसटी बिमामा १० करोडसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बिमा कम्पनी र ३५ प्रतिशत बिमकले भुक्तानी गर्ने व्यवस्था छ । १० करोडदेखि ६ अर्बसम्म शतप्रतिशत पुनर्बिमाले बहन गर्छ । अन्डर इन्स्योरेन्सका कारण दाबी रकम करिब ६२ प्रतिशतमा सीमित हुन सक्छ ।
होटलमा ९ बैंकहरूले ५ अर्ब २ करोड ऋण लगानी गरेका छन्, जसमा नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्टलगायत छन् । ५ अर्ब २ करोड ऋण सुरक्षित राख्दै होटलले ५ अर्ब बराबरको मात्र बिमा गरेको थियो । होटल एसोसिएसनको विवरणअनुसार हिल्टनमा ८ अर्बभन्दा बढी लगानी छ, तर बिमा रकम ५ अर्बमात्र भएकाले होटल ‘अन्डर इन्स्योर्ड’ अवस्थामा छ । त्यसैले पाउने दाबी भुक्तानी उल्लेखनीय रूपमा घट्नेछ ।























