काठमाडौँ – दलालको झुटो कुरामा फसेर लाखौं खर्च गरी युरोपेली मुलुक पुग्ने नेपालीहरूको ठुलो समूह बिचल्लीको अवस्थामा पुगेको छ । दलालहरूको भनाइमा विश्वास गरेर रोमानिया, बुल्गेरिया, बोस्निया र स्लोभाकिया पुगेका नेपालीसहित भारतीय श्रमिकहरूको ठुलो संख्या बिचल्लीको अवस्थामा परेको हो ।
हालै स्लोभाकियाबाट फर्केका बागलुङका नवीन श्रीसका अनुसार नेपाल र भारतका धेरै एजेन्टहरूले ‘३ महिनाको भिसा, त्यसपछि टिआरसी भनिने टेम्पोररी रेसिडेन्ट कार्ड, दैनिक ८ घण्टा काम, न्यूनतम ९ सय युरो तलब, बोनस, ओभरटाइम, बसोबास–ट्रान्सपोर्ट फ्रि’ जस्ता आकर्षक प्रचार गरेर झुक्याएर पठाउने गरेको बताएका छन् । उनले आफूहरू दलाललाई १६ लाख रुपैयाँ दिएर स्लोभाकिया गएको, तर त्यहाँ मुस्किलले ५ सय युरो बचाउन नसकेपछि घर फर्केको बताउँछन् ।
स्लोभाकियामा ‘टिआरसी कार्ड’ गैर–इयू नागरिकहरूलाई काम, अध्ययन वा पारिवारिक पुनर्मिलन जस्ता विशेष उद्देश्यका लागि अस्थायी रूपमा बस्न दिइने अनुमतिपत्र हो । उक्त कार्ड प्राप्त गर्न स्लोभाकियाको दूतावास वा स्लोभाकियाको विदेशी प्रहरी विभागमा आवेदन दिनुपर्छ । आवेदन दिँदा रोजगार सम्झौता र आवास, आर्थिक हैसियत, स्वास्थ्य परीक्षण जस्ता आवश्यक कागजातहरू पेस गर्नुपर्छ ।
आवेदन आधिकारिक फारमहरू भरेर सार्वजनिक स्वास्थ्यलाई खतरामा पार्ने रोग छैन भनेर पुष्टि गर्ने मेडिकल रिपोर्ट कार्ड प्राप्त गरेको ३० दिनभित्र पेस गर्नुपर्ने व्यवस्था छ । तर विभिन्न प्रलोभनमा पारेर नेपालबाट लैजाने दलालले यी प्रक्रिया पूरा नगरिदिने गरेकाले नेपालीहरू समस्यामा पर्ने गरेको नवीन बताउँछन् ।
स्लोभाकियामा २०२५ जनवरीदेखि नेपाली र भारतीय नागरिकलाई ३ महिनाको भिसा दिइन थालेको हो । एजेन्टहरूले ३ महिनापछि कार्ड बन्ने र स्थायी काम मिल्छ भनेर आश्वासन दिएर विश्वासमा लिए पनि कतिपय एजेन्टहरूलाई कार्ड कसरी बन्छ ? वा कसरी नवीकरण हुन्छ ? भन्ने जस्ता आधारभूत विषयमा जानकारी नहुने गरेका कारण कतिपय त्यहाँ पुग्नेहरू ३ महिनापछि पनि अनिश्चितता र अलमलमा पर्ने गरेकोे पनि नवीनको भनाइ छ ।
उनका अनुासार एजेन्टको झुटो आश्वासन नभई त्यहाँ काम गरिरहेका नेपालीबाट काम तलब, अस्थायी कार्डलगायतका विषयमा वास्तविक स्थितिको जानकारी लिएर प्रोसेसमा लाग्नुपर्ने रहेछ ।
यसैबीच आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएका ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितहरुले दिएको जाहेरी दरखास्तपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ।
कार्यालयका अनुसार बुल्गेरिया पठाउने भन्दै ७ लाख ५० लिएका काभ्रेपलान्चोक भोटेकोशीका अमृत तामाङ, अल्बानिया पठाउने आश्वासनमा ३ लाख लिएका लमजुङ दोर्दीका पुड्के तामाङ र अमेरिका पठाइदिने भन्दै ४ लाख ५० हजार लिएर बेपत्ता भएका काठमाडौंका विशाल बज्राचार्य पक्राउ परेका छन् ।























