images
images
  • काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएपछि मन्त्री पुगे ल्याण्डफिल साइट, छिट्टै फोहोर उठ्ने दाबी

    काठमाडौं– काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको निरीक्षण गरेका छन् ।

    उपत्यकाका सडक फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापनसँग सम्बन्धित अधिकारी र स्थानीय प्रतिनिधिसँग छलफल गर्न बन्चरेडाँडाको निरीक्षण गरेका हुन् ।

    यो निरीक्षणलाई उपत्यकाको दैनिक जीवनमा प्रभाव पारिरहेको फोहोर संकटलाई केन्द्रमा राखेर समाधानको बाटो खोज्ने प्रयासका रूपमा लिइएको छ ।

    उपत्यकामा काठमाडौं महानगरपालिका र अरू स्थानीय तहबाट दैनिक एक हजार २०० टनभन्दा बढी फोहोर जम्मा हुन्छ ।

    सिसडोल ल्यान्डफिल्ड साइटको क्षमता यसअघि नै सीमित भइसकेको छ ।

    त्योसँगै बन्चरेडाँडा ल्यान्डफिल्डलाई फोहोर व्यवस्थापनको वैकल्पिकस्थलका रूपमा विकास गरिएको थियो ।

    तर, विगतका वर्षमा यो साइटसँगका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्ण रूपमा प्रभावकारी हुन सकेको छैन ।

    मन्त्री घिसिङले निरीक्षणका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् ।

    स्थानीयले फोहोर विसर्जनले हुने वातावरणीय प्रदूषण, पानीका मुहानमा असर, स्वास्थ्य जोखिम र सडक अवरोधजस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् ।

    ०७९ भदौमा स्थानीयले सडक अवरुद्ध गरेपछि फोहोरका गाडी बाटोमै रोकिएका थिए ।

    त्योसँगै उपत्यकामा फोहोर थुप्रने संकट निम्त्याएको थियो ।

    अहिले पनि पुरानै स्थिति दोहोरिएको छ ।

    ०८० मा गरिएको एक अध्ययनमा बन्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीमा प्रदूषण बढेको पाइएको थियो ।

    त्यसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुगेको छ ।

    स्थानीयले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटक–पटक विरोध प्रदर्शन गरेका छन् ।

    गएको असोजमा गरिएको छलफलमा पनि सहमति जुट्न सकेन ।

    त्योसँगै फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो ।

    यी समस्याका कारण उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन ।

    स्थानीयले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् ।

    निरीक्षणका क्रममा मन्त्री घिसिङले फोहोर छुट्ट्याउने प्रक्रियालाई कडाइका साथ लागु र स्थानीयसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन् । –न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    images
    images