काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह ११ वर्षपछि औपचारिक रूपमा दर्ता भएको छ ।
मंगलबार निर्वाचन आयोगमा ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा दल दर्ता गरिएको हो ।
२०६९ सालमा एकीकृत माओवादीबाट अलग भएका विप्लव २०७१ सालमा मोहन वैद्यबाट अलग हुँदै आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए ।
२०७४ को निर्वाचन बहिष्कार गरेपछि २०७५ फागुन २८ गते सरकारद्वारा प्रतिबन्ध लगाइएको थियो ।
त्यस प्रतिबन्ध २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले फुकुवा गरेको थियो ।
शान्तिपूर्ण राजनीतिमा आउने तीन बुँदे सहमति पछि पनि २०७९ को स्थानीय चुनावमा दलले स्पष्ट निर्णय गर्न सकेको थिएन ।
त्यसपछि विप्लव २०७९ असारमा गठित समाजवादी मोर्चामा सामेल भए, जसमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव समूह पनि छन् ।
पछिल्लो समयमा माओवादीसँगको एकता प्रयास निष्क्रिय भएपछि विप्लव समूहले दल दर्ता प्रक्रिया अघि बढाएको हो ।
०८१ पुसमा बसेको केन्द्रीय बैठकले २०८४ को आमनिर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको थियो ।
आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको समय दिएको छ ।
























