images
images
  • अपदस्त ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्का गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

    मंगलबार अधिवक्ता प्रेमराज सिलवालले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोक्ने निर्णयविरुद्ध रिट पेस गरेका हुन् ।

    भदौ २३ र २४ गतेको ‘जेन-जी आन्दोलन’पछिको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले राहदानी रोक्का र स्थान हद तोक्ने निर्णय गरेको थियो ।

    अधिवक्ता सिलवालले उक्त आयोगको निर्णय गैरकानुनी रहेको, सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकारको उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

    रिटमा आयोगको निर्णय बदर गरी अबदेखि कुनै व्यक्तिको राहदानी रोक्का वा स्थान हद तोक्ने कार्य नगर्न परमादेश जारी गर्न माग गरिएको छ ।

    सर्वोच्च अदालतको प्रशासनले रिट अध्ययन भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images