images
images
  • सडक संघर्षको तयारीमा दुर्गा प्रसाईं र असन्तुष्ट जेन्जी

    काठमाडौं– जेनजी प्रदर्शनपछिको राजनीतिक तरलताको व्यवस्थापनका लागि सबै विकल्पमा तयार हुन दलहरूले शक्ति संगठित गर्ने रणनीति लिएका छन् । लोकतन्त्रलाई लिकमा ल्याउन कानुनी बाटोबाट संसद् पुनःस्थापना, निर्वाचनमार्फत ताजा जनादेश वा सडक आन्दोलनबाट राजनीतिक शक्तिको औचित्य पुष्टि गर्ने विकल्पमा जुट्न दलहरूले सडकमार्फत शक्ति प्रदर्शनको तयारी गरेका छन् ।

    नयाँ पुस्ताको असन्तुष्टि, आलोचना र आक्रोश खेपेका राजनीतिक दलहरू जेनजी प्रदर्शनपछिको अलमल चिर्दै आफ्नो शक्ति देखाउन सडक कब्जा गर्ने प्रयासमा लागेका हुन् । सत्ता पक्षले समेट्न नसकेका जनभावनालाई समेट्ने ठाउँका रूपमा परिचय बनाएको सडक आन्दोलनको साथ लिएर जेनजीले राजनीतिक परिवर्तन गरेकाले सडकको महत्व सम्झँदै राजनीतिक दलहरूले सडक संघर्षको विकल्प अँगालेका छन् ।

    जेनजी प्रदर्शनका कारण प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक दलहरूले सडक आन्दोलन, कानुनी बाटोबाट संसद् पुनःस्थापना र निर्वाचनमार्फत नयाँ जनादेश जुनसुकै विकल्पमा जान पनि कार्यकर्ता तथा समर्थक संगठित गर्न आवश्यक भएकाले सडक आन्दोलनको विकल्प अँगालेको दलहरूले दाबी गरेका छन् ।

    पालमुनिबाट सडक तताउँदै एमाले

    विघटित संसद्को दोस्रो ठूलो तथा सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले जेनजी प्रदर्शनपछिको बहिर्गमनबाट भएको राजनीतिक क्षति जोगाउन सडकको सहारा लिने भएको छ । राजनीतिक अवस्था र भावी रणनीतिको विषयमा कार्यकर्तालाई सुसूचित गर्ने र सरकारलाई खबरदारी गर्ने नाममा विभिन्न कमिटीका ब्यानरमा कार्यक्रम गरिरहेको छ ।

    एमाले महासचिव शंकर पोखरेलले संसद् नभएका अवस्थामा जनताको साथमा उभिएर सरकारलाई खबरदारी गर्न सडक आन्दोलन गर्ने बताएका छन् । जेनजी प्रदर्शनका क्रममा कार्यालय जलेर ध्वस्त भएका कारण अस्थायी रूपमा त्रिपालमुनिबाट केन्द्रीय कार्यालय सञ्चालन गरेको एमालेले जनसंगठन तथा मातहत कमिटीलाई राजनीतिक क्षति न्यूनीकरण तथा संगठन सुदृढीकरणका लागि राजनीतिक अभियानका नाममा सडकमा उतार्ने भएको हो ।

    पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू जेनजी प्रदर्शनका क्रममा राजीनामा गर्ने, पार्टी परित्याग गर्ने तथा निष्क्रिय बस्ने भएपछि उनीहरूलाई सक्रिय बनाउँदै शक्ति जोगाउन पनि एमालेले सडक आन्दोलनका नाममा संगठन सक्रिय बनाउने रणनीति लिएको बुझिएको छ ।

    नेकपा एमालेले जिल्ला, नगर तथा वडास्तरसम्मै विभिन्न कमिटीका आयोजनामा बैठक, भेला तथा सभाहरू राख्न र शक्ति प्रदर्शनका योजना बनाउन निर्देशन दिएको जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल बताउँछन् । पार्टीको योजनाअनुरूप सोमबार अर्घाखाँची जिल्ला कमिटीले जनप्रदर्शन तथा सद्भाव ¥याली आयोजना गरेको छ ।

    ¥यालीमार्फत नेताहरूले कार्यकर्तालाई जागरुक हुन ऊर्जा थप्ने प्रयास गरेका छन् भने विपक्षीहरूका लागि शक्ति प्रदर्शनमार्फत सन्देश दिएका छन् । काठमाडौंमा पनि टोखा नगर कमिटीका नाममा एमालेले राजनीतिक जागरण कार्यक्रममार्फत जनप्रदर्शन गरेको छ । जेनजी प्रदर्शनपछिको अवस्थामा आफ्नो राजनीतिक उद्देश्यअनुसार शक्ति संगठन तथा विस्तारका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शक्ति प्रदर्शनको तयारी गरेको छ ।

    विप्लव नेतृत्वको नेकपाले २० कात्तिकमा काठमाडौमा सडक प्रदर्शनसहित केन्द्रीय कमिटी बैठकको उद्घाटनको घोषणा गरेको छ । सर्वपक्षीय सरकारको गठन र संविधान संशोधनसँगै नयाँ जनमत परीक्षणको अवस्था बनाउनुपर्ने भन्दै विप्लवले पनि सडकमार्फत ध्यानाकर्षण गर्दै छन् ।

    असन्तुष्ट जेनजी पनि सडकमै

    जेनजी प्रदर्शनका बलमा सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भए पनि असन्तुष्ट जेनजीहरू दल दर्ता गरी सडक आन्दोलनकै तयारीमा छन् । भदौ २३ र २४ को प्रदर्शनले ठूलो मानवीय तथा भौतिक क्षति भए पनि संगठित योजनाबद्ध र नेतृत्वसहितको प्रदर्शन नभएका कारण परिवर्तनलाई संस्थागत गर्न नसकिएकाले संगठित रूपमा दल दर्तासहित आउने तयारी गरेका छन् । परिवर्तनलाई संस्थागत गर्न दल दर्ता गरी सरकारलाई सडक आन्दोलनबाट निरन्तर खबरदारी गर्ने जेनजी नेता मिराज ढुंगानाले बताएका छन् ।

    सडक प्रदर्शनमा तयारीमा दुर्गा प्रसाईं

    विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले पनि राजनीतिक प्रणालीको परिवर्तन र संविधान खारेजीसहितका माग राख्दै सडक प्रदर्शन चर्काउने तयारी गरिरहेका छन् । नयाँ राजनीतिक दल निर्माण गरेर सडक प्रदर्शनमा जाने कि एकल नेतृत्वको भद्रगोल असन्तुष्ट समूहलाई लिएर प्रदर्शनमा जाने भन्ने अन्योलमै रहेका प्रसाईंसमेत छलफलमा रहेका छन् । प्रसाईं आफ्नो प्रदर्शनको स्वरूपका लागि केही दिनयता निरन्तर छलफलमा छन् । प्रसाईंले काठमाडौंका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा मूलधारका मिडियाका सम्पादकहरूसँग समेत छलफल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images