images
images
  • ट्रम्प–पुटिन दोस्रो शिखर वार्ता स्थगित भयो किन ?

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको दोस्रो शिखर बैठक केही समयका लागि स्थगित भएको छ ।

    यससँगै, यसै हप्ता तय गरिएको दुवै देशका उच्चस्तरीय विदेश मामिला सल्लाहकारबीचको पूर्व बैठक पनि रोकिएको छ ।

    ट्रम्पले पुटिनसँगको बिहीबारको फोन संवादपछि आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, “हामीले उच्चस्तरीय सल्लाहकारहरूको बैठक अर्को हप्ता गर्ने सहमति गरेका छौं ।”

    उनले परराष्ट्रमन्त्री मार्को रुबियोको नेतृत्वमा अमेरिकी टोली रहने बताएका थिए ।

    तर ह्वाइट हाउसका अनुसार रुबियो र उनका रुसी समकक्ष सर्गेई लावरोभबीचको बैठक हालका लागि स्थगित भएको छ ।

    सीएनएनका अनुसार, बैठक स्थगनको कारण युक्रेनमा रुसी आक्रमण अन्त्यबारे मतभेद हो ।

    यसले आगामी हप्ताको बुडापेस्टमा तय ट्रम्प–पुटिन शिखर वार्तामा असर पर्ने सम्भावना पनि देखिएको छ ।

    ह्वाइट हाउसकी उप–प्रवक्ता एना केलीका अनुसार, राष्ट्रपति ट्रम्प शान्तिपूर्ण समाधानका लागि लगातार संवादमा छन् र युद्ध अन्त्यका लागि सबै प्रयास गरिरहेका छन् ।

    सोमबार रुबियो र लावरोभबीच भएको टेलिफोन वार्तामा दुवैले राष्ट्रपतिबीचको पछिल्लो फोन संवादका विषयमा छलफल गरेका थिए ।

    क्रेमलिनले उक्त संवादलाई रचनात्मक भन्दै सहमतिको कार्यान्वयनका ठोस कदमबारे चर्चा भएको जनाएको छ ।

    ट्रम्प र पुटिनबीच अन्तिम प्रत्यक्ष वार्ता दुई महिनाअघि अलास्काको एन्करेजमा भएको थियो, जसमा ठोस सम्झौता नभए पनि दुवै पक्षले “प्रगति भएको” बताएका थिए। त्यसयता ट्रम्पले सार्वजनिक रूपमा कीभ र मस्कोलाई युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images