images
images
  • जेन्जी आन्दोलनका घाइतेलाई ४८ लाख, मृतकका ५३ परिवारलाई राहत वितरण

    काठमाडौं– जेन्जी आन्दोलनका क्रममा घाइते भएकाका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ भैपरी खर्चवापत् निकासा गरेको छ ।

    स्वास्थ्य मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजारका दरले यो रकम पठाइएको हो ।

    पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेहरूलाई रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार प्राविधिक समितिले वर्गीकरण गरेपछि राहत वितरण गरिने छ ।

    हालसम्म २ हजार ४२९ जना घाइतेको विवरण प्राप्त भएको छ भने २ हजार ८७६ परिचयपत्र जिल्लामा पठाइएको छ ।

    घाइतेको पुनःउपचारका लागि ‘जेन–जी क्लिनिक’ सञ्चालनमा ल्याइएका छन् ।

    सरकारले अहिलेसम्म एक अर्बभन्दा बढी रकम उपचारमा खर्च गरेको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् ।

    त्यस्तै, आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाखका दरले राहत पठाइएकोमा ४९ परिवारले बुझिसकेका छन् ।

    सरकारले असोज १ गते राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।

    आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    मृतकको स्थायी पहिचानका लागि प्रहरी र जिल्ला प्रशासनमार्फत विवरण संकलन भइरहेको छ ।

    दमन र क्षतिको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक आयोग गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images