
चितवन । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरअन्तर्गत ट्रफी मंगलबार (कात्तिक ४) चितवन ल्याइएको छ ।
फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्यालीसहित टुरको सुरुआत गरेको हो ।
राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार, राइड फर राइनोज नाम दिइएको उक्त र्याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुल्चोक, लायन्सचोक, सीएमसी, हाकिमचोक, गोन्द्राङ, निपनी, टाँडी हुँदै पर्यटकीय गन्तव्य सौराहामा पुगेर सम्पन्न गरिनेछ ।
उक्त अवसरमा चितवन राइनोजका रिजन ढकाल, गौतम केसी र रञ्जित कुमार औपचारिक रूपमा सहभागी भएका थिए ।
यस्तै, चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु वर्मा र नायिका नीति शाहलाई राइनोजले ब्रान्ड एम्बेस्डरका रूपमा सार्वजनिक गरेको छ ।
एनपीएल ट्रफी टुर यसअघि पूर्वको विराटनगरबाट सुरु भए पनि ‘जेनजी’ प्रदर्शनपछि स्थगन गरिएको थियो ।
हाल पुनः जनकपुरबाट सुरु भई हेटौँडा हुँदै ट्रफी चितवन ल्याइएको हो । –रासस
प्रतिक्रिया दिनुहोस्