
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग बलियो बन्दै गएको छ ।
तर, विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएका नेताहरू भने कार्यसमितिप्रति सशंकित छन् ।
पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण देशभरका पार्टी कार्यालयहरू बन्द रहेका बेला आइतबार उनीहरूले पत्रकार सम्मेलन गर्दै केन्द्रीय कार्यसमितिले मंसिरमा महाधिवेशन नगर्ने सम्भावना बढेको आशंका व्यक्त गरे ।
युवा नेता मनोजमणि आचार्यले छठपछि मात्रै बैठक राखिएको र अन्त्य मिति तय नभएकाले केन्द्रीय कार्यसमिति म्याद थप्ने तयारीमा रहेको दाबी गरे ।
उनका अनुसार प्रतिनिधिसभा निर्वाचनअघि नयाँ नेतृत्व चयन गर्नु पार्टीको तत्काल आवश्यकता हो ।
पत्रकार सम्मेलनमा खोटाङका पूर्वसभापति सुवास पोखरेलले प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको मागलाई ‘रिफरेन्स प्रस्ताव’ भनेकोप्रति आपत्ति जनाउँदै उनलाई मर्यादामा बस्न चेतावनी दिए ।
नेता गुरूराज घिमिरेले बैठक अस्वाभाविक रूपमा लम्ब्याएको आरोप लगाउँदै पार्टीसँग नियमित वा विशेष महाधिवेशन गर्ने दुई विकल्प मात्रै रहेको बताए ।
तर, प्रवक्ता महतले विशेष नभई नियमित १५औँ महाधिवेशन नै गर्ने तयारी भएको स्पष्ट पारे ।
उनका अनुसार मंसिरभित्र महाधिवेशन गर्न सक्ने मत पनि रहेको तर, वडादेखि केन्द्रसम्मको प्रक्रिया पूरा गर्न समय चाहिने भएकाले छलफल जारी छ ।
विशेष महाधिवेशनका मागकर्ताहरूले भने महाधिवेशन प्रतिनिधिको कार्यकाल सकिएको संस्थापन पक्षको दाबीलाई ‘काइते तर्क’ बताएका छन् ।
कांग्रेसको विधानमा कार्यकाल चार वर्ष भनिए पनि महाधिवेशन प्रतिनिधिको अवधि खुलाइएको छैन ।
२९ असोजमा ५३ प्रतिशत अर्थात् २,४८८ महाधिवेशन प्रतिनिधिले धारा १७(२) अनुसार विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
सो मागपछि ३० असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश सदस्यले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको बैठक अब १३ कात्तिकमा पुनः बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्