
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन् ।
मंगलबार बालुवाटारमा भएको छलफलमा विघटित प्रतिनिधिसभामा रहेका १४ दलमध्ये ११ दलका नेता सहभागी भएका छन् ।
प्रधानमन्त्री बनेपछि दलहरूसँगको यो उनको पहिलो औपचारिक संवाद हो ।
सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसका गगन थापा र डा. प्रकाशशरण महत, एमालेका शंकर पोखरेल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रका पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाका राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपाका उपेन्द्र यादव र प्रकाश अधिकारी, लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्तिका रेशम चौधरी, नेमकिपाका प्रेम सुवाल, जनमतका चन्दनकुमार सिंह र एकीकृत समाजवादीका राजेन्द्र पाण्डे तथा प्रकाश ज्वाला सहभागी छन् ।
साथै, केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकको रूपमा बैठकमा उपस्थित हुने प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा चुनावको तयारी र सुरक्षा व्यवस्थाबारे छलफल बालुवाटारमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्