काठमाडौं– नेकपा (एमाले)ले आगामी २१ फागुनमा तोकिएको आम निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा पुनःस्थापनाले मात्रै देशलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्ने निष्कर्ष निकालेको छ ।
बैठकले सरकारलाई निर्वाचनको वातावरण बनाउन असफल ठहर गर्दै निर्वाचन पनि नभएको र संसद् पनि नभएको अवस्थाले राजनीतिक रिक्तता र अस्थिरता बढाएको बताएको छ ।
बैठकपछि अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै नहुने चुनावमा एमाले भाग नलिने बताएका छन् ।
तर, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यलगायत नेताहरूले उक्त निर्णयको विरोध गरेका थिए ।
एमालेले सरकारले विपक्षी नेतामाथि राहदानी रोक्का, स्थान हद तोक्ने र मिडिया ट्रायलमार्फत चरित्र हत्या गर्ने कार्य गरिरहेको आरोप लगाएको छ ।
बैठकले २३ र २४ भदौमा भएका घटनामा तत्कालीन प्रधानमन्त्री ओलीलाई जवाफदेहीबाट उन्मुक्ति दिएको छ ।
पार्टीले उक्त घटनालाई घुसपैठ र दुरुत्साहनमार्फत गराइएको षड्यन्त्र ठहर गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ ।
तर, केही केन्द्रीय सदस्यहरूले त्यस दिनको नरसंहारको राजनीतिक जिम्मेवारी ओलीले लिनुपर्ने बताएका थिए ।
सचिव योगेश भट्टराईले हाम्रो नेतृत्वमै त्यो घटना भएकोले जनतासँग क्षमायाचना गर्नुपर्छ भनेका थिए ।
बैठकमा अरविन्द सिंह, ठाकुर गैरे, नवीना लामा, रचना खड्कालगायत नेताहरूले अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए ।
तर, ओलीले ५५ वर्षको संघर्षबोझ पूरा नगरी पद नछोड्ने भन्दै अस्वीकार गरेका छन् ।
उनले आफ्नो भविष्यबारे छलफल महाधिवेशनमै हुने बताएका छन् ।
एमालेले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने निर्णय गरेको छ ।























