
काठमाडौं– जेन्जी आन्दोलनका क्रममा घाइते भएका सभापति शेरबहादुर देउवाले उपचारपछि पहिलो बैठकमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् ।
असोज २८ गते सानेपास्थित क्षतिग्रस्त केन्द्रीय कार्यालयबाट उनले स्वास्थ्य कारण देखाउँदै कार्यवाहक तोकेका हुन् ।
तर, देउवाको सम्बोधन बिदाइ शैलीमा रहेको भन्दै नेतादेखि मिडियासम्म उनले राजनीतिबाट सन्यास लिएको व्याख्या गरे ।
देउवाले भनेका थिए, ‘घरमा सधैं एकै जना मूली रहँदैन, पार्टीमा पनि रहँदैन । आगामी महाधिवेशनबाट म बाहेक अरू कोही सभापति बन्नेछ ।’
त्यसपछि देउवा अब सक्रिय राजनीतिमा फर्किँदैनन् भन्ने चर्चा फैलियो ।
तर, भोलिपल्टको केन्द्रीय समिति बैठकमा उनको कुर्सी खाली राखिए पनि कार्यवाहकको लिखित पत्र सार्वजनिक भएन ।
५३ प्रतिशत प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको र मंसिरभित्र नियमित महाधिवेशन नतयार पारिएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।
स्थापनापक्षले देउवाले विश्राम लिएका मात्र हुन्, बिदा होइनन् भन्ने व्याख्या गरेको छ ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘सभापति बिरामी भएकाले अस्थायी रूपमा कार्यवाहक दिनुभएको हो । उहाँकै परामर्शमा सबै काम भइरहेका छन् ।’
तर, अजयबाबु सिवाकोटीलगायत नेताहरूले महाधिवेशनको तयारी नगरी देउवाको आशय विपरीत कदम चालिएको आरोप लगाएका छन् ।
विशेष महाधिवेशन पक्षधरहरूले पत्रकार सम्मेलन गरेर पनि असन्तुष्टि जनाएका छन् ।
पार्टीभित्र देउवाको भूमिकाबारे अझै स्पष्टता नआए पनि नेतृत्व हस्तान्तरण र आगामी महाधिवेशनबारे कांग्रेसमा द्विविधा र प्रतिस्पर्धा तीव्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस्