नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ ।
वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमाभन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्याङ्कले जनाएको छ ।
करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यसपटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरूमध्ये एक बनेको छ ।
जाडो मौसम सुरु हुनासाथ यहाँको आकाश बाक्लो धुवाँले ढाकिने गरेको छ ।
चिसो हावाले प्रदूषक तत्त्वहरूलाई जमिनको नजिक समात्ने भएकाले बाली जलाउने, कारखानाबाट निस्कने धुँवा र सवारीसाधनका उत्सर्जन मिसिएर घातक धुवाँको तह तयार भएको बताइन्छ ।
यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण बढाएको जनाइको छ ।
यसअघि सर्वोच्च अदालतले यस वर्षको दीपावलीका लागि कम प्रदूषण गर्ने ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिँदै पूर्ण प्रतिबन्ध हटाएको थियो ।
ती हरित पटाका कम कण उत्सर्जन गर्ने उद्देश्यले तयार गरिएका हुन् ।
तथापि विगतका वर्षहरूमा जस्तै यसपटक पनि धेरैले प्रतिबन्धको बेवास्ता गरेको रिपोर्टहरू आएका छन् ।
वायु प्रदूषण मापन संस्था आईक्यूएयरका अनुसार सोमबार बिहान दिल्लीका केही भागमा क्यान्सर उत्पादन गर्ने सूक्ष्म कण र मानव रगत प्रवाहसम्म प्रवेश गर्न सक्ने एः २.५ स्तर २४८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो ।
भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आगामी दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिएको छ ।
आयोगले डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।
साथै प्रदूषण नियन्त्रणका लागि विभिन्न आपत्कालीन उपायहरू कार्यान्वयनमा ल्याएको पनि जनाएको छ ।


विश्व खबर 




















