काठमाडौं– नेपाली सेनाले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा देशभर ६६८ वटा सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको जनाएको छ ।
सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त दिनका मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक गरेको हो ।
सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ४५४ स्थानमा आन्दोलन भएका थिए ।
ती घटनामा ७८ जनाको मृत्यु भएको छ, जसमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १० जना कैदी र ४३ जना अन्य नागरिक छन् ।
सेनाका अनुसार आन्दोलनका क्रममा १५ हजार ८५८ कैदी बन्दी फरार भएका मध्ये ६ हजार ७२१ जना पक्राउ वा फिर्ता भइसकेका छन् ।
५७८ जना घाइते भएका छन् ।
जेन–जी आन्दोलनमा २३५ उच्च व्यक्तिका निजी निवास, १९८ व्यावसायिक प्रतिष्ठान, १८८ राजनीतिक दलका कार्यालय र ३७० प्रहरी कार्यालयमा समेत आगजनी र तोडफोड भएको सेनाले जनाएको छ ।
सेनाले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको क्षतिको विवरण पनि सार्वजनिक गरेको छ ।
यी सबै घटना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर भागिसकेपछि र सेना सडकमा निस्किनु अघि नै भएका थिए ।























