काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गरेकी छन् ।
शुक्रबार परराष्ट्र मन्त्रालयको हलमा भएको छलफलमा प्रधानमन्त्री कार्कीले हाल नेपाल गहिरो राजनीतिक परिवर्तनको एक महत्त्वपूर्ण घडीमा रहेको बताइन् ।
कार्कीले जेनजी आन्दोलनलाई ‘सामूहिक जिम्मेवारी, सुन्ने, जवाफ दिने, सुधार गर्ने एउटा शक्तिशाली स्मरण’ भएको पनि बताइन् ।
“जेनजी आन्दोलनले राम्रो शासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीप्रति जनताको गहिरो चाहनालाई प्रतिविम्बित गर्दछ,” उनले भनिन् ।
उनले नयाँ संविधान अंगीकार गरेयता देशले गरेको उपलब्धि सीमित रहेको पनि बताइन् ।
“तर, यस आन्दोलनले हामीलाई चुनौती दिएको छ, अब निष्क्रियताको कुनै ठाउँ छैन । हामीले जनताको वैध आकांक्षाहरू पूरा गर्न फेरि समर्पित हुनैपर्छ ।”
प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा पहिलो पटक भेटेको जानकारी दिइन् ।























