नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड (जेन–जी) आन्दोलन, सरकारको लापरबाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकतालगायतका विषयमा धारणा राखेका छन् । कार्यक्रमअघि उनले बिहान चितवन देवघाटसम्म मर्निङ वल्कसमेत गरेका थिए ।
संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए ।
उनले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।’
संयोजक प्रचण्डले २३ भदौमा राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको सुरक्षा लापरबाहीलाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे ।
उनले भने, ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’
संयोजक प्रचण्डले घटनापछि २३ भदौको राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताए ।
‘हामीले आन्दोलनलाई वैधानिकता दियौँ, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो,’ उनले भने ।
२४ भदौमा सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयम्को पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उनले बताए । ‘हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौँ,’ उनले भने ।
संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन् ।’























