काठमाडौं– असोज १७ देखि १९ गतेसम्मको लगातार वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ र निर्माणाधीन ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढी–पहिरोबाट क्षतिग्रस्त भएका हुन् ।
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार यस वर्ष समयमै पूर्वसूचना प्राप्त भएकाले मानवीय क्षति भने हुन पाएन ।
उनका अनुसार अघिल्ला वर्षको तुलनामा यसपटक भौतिक क्षति पनि न्यून छ ।
सबैभन्दा बढी क्षति कोशी प्रदेशको इलाममा भएको छ, जहाँ १५ वटा जलविद्युत आयोजनाको उत्पादन रोकिएको छ ।
तीमध्ये माइखोला, माइखोला क्यासकेड, सुपरमाइ, सुपरमाइ ए, जोगमाइ, माइबेनी, माथिल्लो माइ, पुवा र अपर पुवा लगायतका आयोजना छन् ।
पाँचथरको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशको ५२.४ मेगावाटको लिखु–४ पनि प्रभावित भएका छन्। लिखु–४ बाहेक सबैको उत्पादन बन्द छ ।
निर्माणाधीन आयोजनामा सबैभन्दा बढी क्षति पहुँचमार्गमा पुगेको छ ।
मनाङको ४९.९५ मेगावाट दाना खोला जलविद्युतको सडकका धेरै भाग पहिरोले बगाएको छ ।
इलामको सिद्धिखोला आयोजना बाढीका कारण उत्पादन मिति पर सारिएको छ ।
पाँचथरका सभाखोला बी र हेवाखोला आयोजनाका उपकरणसमेत बगाएका छन् ।
सिन्धुपाल्चोकका ब्रम्हायणी, माथिल्लो ब्रम्हायणी, बलेफी र तल्लो बलेफी लगायतका आयोजनाका सडकहरू पनि अवरुद्ध भएका छन् ।
रसुवा, भोजपुर, म्याग्दी, लमजुङ, रामेछाप र धादिङका आयोजनाहरूमा पनि समान क्षति पुगेको इप्पानले जनाएको छ ।
अहिले धेरै आयोजनासम्म पुग्ने बाटो अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण आउन केही समय लाग्ने इप्पानको भनाइ छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्