नयाँदिल्ली– पूर्वी भारतीय राज्य पश्चिम बंगालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
पश्चिम बंगालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू कटान हुनुका साथै गाउँहरू तहसनहस भएको जनाइएको छ ।
प्रकोपले व्यापक विनाश गरेकाले हिमालयको फेदमा रहेको बस्तीका सयौँ बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ ।
प्रकोपका कारण सूचना तथा सञ्चार सञ्जालहरू पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् ।
अधिकारीहरूका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए ।
पहिरोले सिक्किमलाई जोड्ने सडक र दार्जिलिङ र सिलिगुडीलाई जोड्ने सडकसहित प्रमुख मार्गहरूमा अवरोध निम्त्याएको छ ।
अधिकारीहरूले कुनै पनि अप्रिय घटना हुन नदिन टाइगर हिल र रक गार्डेनसहित दार्जिलिङका पर्यटकीय स्थल बन्द गरेका छन् ।
प्रभावित क्षेत्रका बासिन्दा तथा पर्यटकलाई सावधान रहन र सडक तथा मौसमको अवस्थाबारे जानकार रहन आग्रह गरिएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतबार साँझ आपत्कालीन बैठक बोलाई सोमबार प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने घोषणा गरेकी छिन् ।
“अवस्था गम्भीर रहेको उल्लेख गर्दै भुटानमा भएको निरन्तर वर्षाका कारण उत्तर बंगालमा पानी भरिएको जनाइएको छ ।
प्राकृतिक प्रकोप नियन्त्रणभन्दा बाहिर भएको बताउँदै ब्यानर्जीले १२ घण्टामा ३०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको र कम्तीमा सात स्थानमा पहिरो र बाढी निम्त्याएको जनाएकी छन् ।
भारी वर्षाले उत्तर बंगालका अन्य क्षेत्रहरू जस्तै जलपाइगुडी, सिलिगुडी र कुचबिहार जस्ता धेरै क्षेत्र जलमग्न बनेका छन् ।
टेलिभिजनका तस्बिरहरूमा नदीहरू भरिएको, क्षतिग्रस्त पुलहरू र बगाएका सडकहरू देखाइएको छ ।
भारतीय मौसम विभागले सोमबारसम्म दार्जिलिङ र कालिम्पोङसहित पश्चिम बंगालमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।
कुचबिहार र जलपाइगुडीका लागि रातो चेतावनी र दार्जिलिङ जिल्लाका लागि सुन्तला चेतावनी जारी गरिएको छ ।


विश्व खबर 




















