काठमाडौं– जारी विपद्को अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार भर्चुअल बैठकबाट उद्धार, राहत र सहजीकरणमा पार्टीका सबै तहका संरचनालाई सक्रिय हुन निर्देशन दिएको छ ।
बैठकले हालको विपद् व्यवस्थापनमा राज्य संयन्त्रले देखाएको तदारुकताको सराहना गर्दै सरकारको गम्भीरता र ईमानदार प्रयासका कारण जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएको उल्लेख गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘सरकार बलियो सांसदको धेरै संख्याले होइन, बलियो सार्वजनिक सेवाले हुने हो ।’
बैठकमा हालसम्मको उद्धार तथा क्षतिको विवरणहरू आदान–प्रदान गर्दै पार्टीका तर्फबाट भइरहेको समन्वय र सहयोगलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
बैठकले निम्न निर्णयहरू गरेको छ :
१. उद्धार र राहत कार्यमा आफ्नो सीप र दक्षता अनुसार प्रत्यक्ष रूपमा संलग्न हुन पार्टीका सबै तहका कार्यकर्ता र संरचनालाई अनुरोध गरिएको छ ।
२. हालसम्मको तथ्यांक र अवस्था सम्बन्धी जानकारी एकअर्कासँग निरन्तर आदान–प्रदान गर्न सुझाव दिइएको छ ।
३. तुलनात्मक रूपमा कम प्रभावित प्रदेशहरूलाई बढी प्रभावित प्रदेशहरूलाई सहयोगका लागि आह्वान गरिएको छ ।
४. आवश्यकतानुसार राजमार्गहरूमा यथाशीघ्र हेल्प डेस्क स्थापना गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन गरिएको छ ।
५. स्थिति सामान्य नआएसम्म हरेक दिन साँझ ७ बजे भर्चुअल अपडेट बैठक सञ्चालन गरिने र प्रदेश तथा जिल्ला कमिटीहरूले नियमित रिपोर्टिङ गर्ने व्यवस्था मिलाइनेछ ।
बैठकले राष्ट्रिय संकटका बेला पार्टी संगठन र जनप्रतिनिधिहरूबीच सहकार्य र तत्परता देखाउन विशेष जोड दिएको छ ।






















