काठमाडौं– देशका विभिन्न भागहरूमा जारी अत्यधिक वर्षाका कारण उत्पन्न बाढी, पहिरो, सडक अवरोध र अन्य दुर्घटनाहरूले जनजीवन प्रभावित बनेको अवस्थाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर सरोकार प्रकट गरेको छ ।
पार्टीले जारी विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि आफ्ना सबै संयन्त्रहरू राज्य संयन्त्रको समन्वयमा सक्रिय रूपमा संलग्न रहेको जनाएको छ ।
“उपलब्ध सिप, स्रोत र जनशक्ति सहित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी भइरहेका हौं,” विज्ञप्तिमा प्रवक्ता मनिष झाले बताएका छन् ।
यसै सन्दर्भमा थप आवश्यक सक्रियता र राहत समन्वयका विषयमा केन्द्रित रही रास्वपाले आज (आइतबार) साँझ ७ बजेका लागि बृहत् भर्चुअल बैठक बोलाएको छ ।
बैठकका प्रमुख बुँदाहरू यस प्रकार छन् :
१. नेपालभित्र तथा विदेशमा रहेका सबै सदस्यहरूलाई बैठकमा सहभागी हुन आह्वान गरिएको छ ।
२. जसले जिन्सी सामग्रीको सहयोग गर्न तयारी गरेका छन्, ती सदस्यहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीका सम्बन्धित युनिटमा सहयोग पुर्याउने र सोको विवरण सहित बैठकमा सहभागी हुने ।
३. आर्थिक सहयोग गर्न चाहनेहरूले नेपाल सरकारले तोकेको खातामा रकम जम्मा गर्ने र सो विवरण बैठकमा प्रस्तुत गर्ने ।
४. RSP Rapid Action Team उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा संलग्न रहेको र हालसम्मको वस्तुगत स्थिति तथा गतिविधिको प्रतिवेदन बैठकमा प्रस्तुत गरिने ।
५. अझै जोखिममा रहेका जिल्लाहरूमा सहयोगका प्रकार र प्राथमिकता पहिचान गरी स्पष्ट विवरण सहित बैठकमा सहभागी हुन अनुरोध ।
६. बैठक Zoom प्लेटफर्ममार्फत सञ्चालन हुनेछ र आवश्यक लिङ्क पार्टीका आधिकारिक समूहहरूमा साँझ ६ बजेसम्म उपलब्ध गराइनेछ ।
विपद्को अवस्थामा एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले सबै सदस्य र शुभेच्छुकलाई राहत र उद्धारमा सम्भव सहयोग गर्न आग्रह गरेको छ ।






















