काठमाडौं– आगामी दुई दिन भारी वर्षाको चेतावनीपछि सरकारले सम्भावित जोखिम रोक्न सक्रियता देखाएको छ ।
जोखिमयुक्त गतिविधिमा रोक लगाउँदै पूर्वतयारी गरेकाले ठूलो क्षति टरेको भए पनि ४९ जनाको मृत्यु भइसकेको छ ।
गतवर्षको असोज १२ को बाढीपहिरोमा देखिएको सरकारी लापरवाहीको तुलनामा यसपालि सरकारले समयमै पहल गरेको भन्दै प्रशंसा भइरहेको छ ।
भारतको केरलामा विकसित प्रणाली बिहार हुँदै नेपाल प्रवेश गर्ने चेतावनीपछि सरकारले पूर्वतयारीलाई प्राथमिकता दिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देशमार्फत सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिन् ।
गृह प्रशासनले स्थानीय निकाय र सुरक्षाकर्मीहरूलाई परिचालन गर्दै राजमार्ग र जोखिमयुक्त क्षेत्रहरूमा सवारी आवागमन रोक्यो ।
जलवायु विज्ञ ङमिन्द्र दाहालका अनुसार यसपालिको मौसमी आँधीको लय फरक छ ।
मौसम पूर्वानुमानको प्रभावकारी सूचना र सरकारको समन्वयले सम्भावित क्षति घटाएको उनको भनाइ छ ।
गतवर्ष प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गैरजिम्मेवार व्यवहारका कारण आलोचना भएको स्मरण गर्दै विज्ञहरूले यो पटक नेतृत्वले जिम्मेवारीपूर्वक काम गरेको उल्लेख गरेका छन् ।
सुरक्षा निकाय र स्थानीय प्रशासनले माइकिङ, आवागमन रोकथाम, तथा अलपत्र परेकाको उद्दार गरेर जोखिम घटाए ।
राजमार्गहरूमा ट्राफिक प्रहरीले सवारी फर्काएको र सम्भावित डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको थियो ।
गतवर्षजस्तो हेलिकप्टर निरीक्षणको प्रदर्शनात्मक अभ्यास रोकिएको छ ।
यद्यपि इलामको पहिरोमा ३७ जनाको मृत्यु र रसुवामा चार जना बेपत्ता भएका छन् ।
विज्ञ दाहालका अनुसार कोशीका पहाडमा अझै उच्च सतर्कता आवश्यक छ ।






















